श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएकाे आरोपमा इन्सपेक्टर शर्मा पक्राउ

काठमाडौं । श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतले उनलाई पक्राउ गरकेो हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए । सोही आधारमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पीडित युवती स्मृति र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए ।

स्मृति जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् । प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने स्मृति र प्रशासनमा आउजाउ गरिरहने ध्रुबबीच आठ महिनाअघि भएको चिनजान प्रेम, शारीरिक सम्पर्क हुँदै विवाहसम्म पुगेको स्मृतिको दावी छ ।

गत चैत महिनामा ध्रुवको पोखरामा एक युवतीसँगै विवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । टिकाटालेको तस्बीर सार्वजनिक भएपछि स्मृतिले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिएन् । टिकाटालो भइसकेको विवाह रद्द भयो । स्मृति र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा विवाह गरेको तस्बीर समेत सार्वजनिक गरेका थिए ।

विवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए । विवाह बन्धनमा बाँधिए पनि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेन् । बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए ।

Facebook Comments