दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच बिहे

काठमाडाैं । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकाकी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ ।

बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको हो। सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागी थिए ।

मुख्यमन्त्री गुरूङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिए । मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी-सोल्टीसमेत हुन् ।

विवाहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री तथा नेताको उपस्थिति थियो।

कोरोनाका कारण सबै आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए।कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्।

Facebook Comments