बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

विराटनगर । प्रहरीले मोरङमा बलात्कारकाे घटनालाई मिलापत्र गराउने ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास,  ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका वडा नम्वर १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नम्वर ८ बस्ने ५३ वर्षीय मथालु खवासलाई बिहिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।

गत भदौ २४ गते अन्दाजी ६ बजे मोरङ धनपालथान गाउँपालिका वडा नं. ५ स्थित प्रतिवादी सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा एक २१ वर्षीया युवतीमाथि जर्बजस्ती करणी भएको थियो । प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को सुरेश कुमार खवासले पीडित बर्ष २१ की परिवर्तित नाम (सुनवर्षी) लाई एक्लै पारी जवरजस्ती करणी गरेका थिए ।

उक्त कसुरमा गत असोज २५ गते इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दरखास्त प्राप्त भएको तर प्रतिवादी सुरेश कुमार खवास फरार थिए । उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मंसिर १९ गते रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा पीडित पक्षलाई रू. ५ लाख दिई मिलापत्र गराउने भन्ने खुल्न आई मिलापत्र कागज समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Facebook Comments