मनकामना मन्दिर र केवलकार मङ्सिर २८ बाट खुल्ने

गोरखा । गाेरखाको मनकामना मन्दिर मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । कोरोना महामारीको कारण नौ महिनादेखि बन्द रहेको मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको हाे ।

मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

‘संस्कृति मन्त्रालयबाट मन्दिर खुलाउने बारे निर्णय गरेको परिपत्र प्राप्त भयो । सो पत्रको आधारमा मंगलबार बसेको सर्वपक्षीय बैठकले जिल्ला विपत व्यवस्थापन समितिसंग अनुमति लिएर आइतबारदेखि मन्दिर र केवलकार खुलाउने निर्णय भएको छ’, जोशीले भने, ‘मन्त्रालयको निर्णयअनुसार स्थानीय स्तरमा समन्वय गरेर र स्वास्थ्य प्रोटोकल पालना गरी अब मन्दिर खुल्छ।’

भक्तजनलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, पश्चिमतर्फको झ्यालबाट देवीको दर्शन गराउने, पुजारीले पञ्जा र मास्कको प्रयोग गरी भक्तजनको पूजासामग्री ग्रहण गरी पूजा गर्ने लगायतका निर्णय भएको क्षेत्रविकास समितिका पूर्व अध्यक्ष दिनेश जोशीले जानकारी दिए।

आउँदो आइतबारबाट केवलकार चलाउने तयारीसमेत गरिएकाे छ।

सरकारले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सुरुमा धार्मिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयनमा समस्या देखिएपछि मनकामना केबलकार र मन्दिर बन्द गरिएको थियो । भक्तजनलाई दर्शनका लागि बन्द गरिए पनि मनकामना मन्दिरको नित्य पूजा भने सञ्चालन हुँदै आएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.