ईश्वर पोखरेलको दवावमा विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । नेपाल प्रहरीमा दुई साता अघि थपिएको दरबन्दीमा एक एआईजी बढुवाका लागि गृह मन्त्रालयमा  केहिबेरअघि बसेकाे बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हाे ।

प्रहरी मुख्यालय र गृह मन्त्रालयलाई समेत जानकारी नै नदिई मन्त्रीपरिषद्ले डिआईजी विश्वराज पोखरेललाई एआईजी बनाउन दुई साता अघि सिधै दरबन्दी थप गरेको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलले आफन्त नाता पर्ने डिआईजी पोखरेललाई बढुवाका लागि मन्त्रीपरिषद्बाट सिधै दरबन्दी थप गराएका थिए ।

जवकी गृह सचिव नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम)ले पाँच जना डिआईजीको मात्र दरबन्दी थप गर्न सिफारिस गरेको थियो ।

ओएण्डएम समितिमा आईजीपी पनि सदस्य रहन्छन् । आफ्ना ब्याचीहरुलाई पछि पार्दै डिआईजीमा ‘सिंगल’ बढुवा भएका पोखरेल आईजीपी शैलेश थापा क्षेत्रीपछि प्रहरी प्रमुख हुने दाउमा छन् ।

पोखरेल अहिले एआईजी बने भने उनलाई आईजीपी बन्ने बाटो खुल्नेछ । बढुवा समितिले मन्त्रीपरिषद्मा नाम सिफारिस गरेपछि एआईजी बढुवा हुने कानुनी व्यवस्था छ ।

Facebook Comments