नेकपा कसैले फुटाउन सक्दैन : भीम रावल

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने ठोकुवा गरेका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी फुटाउन सजिलो नभएको भन्दै नेकपा फुट्न नसक्ने दावी गरेका हुन् ।

‘नेकपा माटोको हाडी होइन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने वित्तकै फुट्ने ।’ रावलले भने, ‘पार्टी कमजोर आधारमा पनि बनेको होइन ।’

पार्टी फुट्न सैद्धान्तिक विषय, महत्पूर्ण राष्ट्रिय विषय र प्रतिनिधि सभामा आवश्यक संख्या पुर्‍याउने जस्ता प्रकृयामा गएको हुनुपर्ने उनको भनाइ थियो । पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए ।

‘पार्टी फुटाएर (ओलीले) प्रधानमन्त्रीभन्दा ठूलो के पद पाउने ?, प्रचण्डले आठ लाख सदस्य भएको पार्टीको अध्यक्षभन्दा के पाउने ?’ उनले भने, ‘कि त कसै कसैले एमसीसी सम्झौता जसरी पनि पारित हुने सोच्नु पर्‍यो । नागरिकता सम्बन्धि विधेयक आउन नदिने सोच्नु पर्‍यो ।’

फरक प्रसंगमा उनले अवधि पुरा नहुँदै प्रतिनिधि सभा विघटन नहुन बताएका छन् ।

प्रधानमन्त्रीले संसद विघठन गर्ने विकल्पको चर्चाबारे सोधिएको प्रश्नमा नेता रावलले संविधान बमोजिम निश्चित समय नपुगेसम्म प्रतिनिधि सभा विघटनको व्यवस्था नरहेको दावी गरे ।

उनले भने, ‘मैले त त्यो सुनेको छैन तर म के कल्पना गर्न सक्दिन भने यो प्रतिनिधि सभा नेपालको संविधान बमोजिम जसरी गठन भएको छ, यो एउटा निश्चित समय नपुगेसम्म कसैले विघठन गर्ने कुरा सोँच्नु हुन्छ । आवेश उत्तेजनामा पाइला चालिहालेमा पाइला अगाडि बढ्न सक्छन् भन्ने कुरामा मलाइ विश्वास छैन ।’

Facebook Comments