७ लाख रूपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ

सिराहा । प्रहरीले करिब ७ लाख रूपैयाँ नक्कली नाेटसहित तीन जनालाई सिराहाबाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका-६ स्थित वीरेन्द्र महतोको घरमा डेरा गरी बसेका कल्याणपुर नगरपालिका-७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज राय र २० वर्षीय सञ्जय कुमार राय रहेको सिराहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस गोलबजारबाट खटेको संयुक्त टोलीले तीनै जनालाई बिहीबार पक्राउ गरिएकाे प्रवक्ता शर्माले जानकारी दिए।

उनीहरूको साथबाट एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप १ थान, क्यानन कम्पनीको प्रिन्टर १ थान, प्लाष्टिकको फोल्डिङ सानो टेबल १ थान, स्केल स्टिलको ३ थान, कैंची २ थान र मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments