काठमाडौं । गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले हुम्लामा चीनले सीमा मिचेको निष्कर्ष निकालेको छ ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनमा घुमाउरो शैलीमा नेपाल र चीनबीच हुम्ला जिल्लामा सीमा समस्या रहेको उल्लेख छ ।
स्रोतका अनुसार गृह मन्त्रालयले हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवाद द्विपक्षीय सहकार्यमार्फत समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रतिवेदन प्राप्त भएपछि कार्तिक २ गते परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच भएको कुराकानीमा पनि सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । अध्ययन समितिको प्रतिवेदनले सीमाको ४ देखि ११ नम्बर पिल्लरसम्म समस्या देखिएको जनाएको छ । अध्ययन प्रतिवेदनले स्थायी तरिकाले विवाद समाधान गर्नुपर्ने निचोड निकालेको छ ।
स्रोतका अनुसार नेपाली भूमिमा चीनले काँडे तारको बार लगाएको हुन सक्ने अध्ययन प्रतिवेदनले सङ्केत गरेको छ । चिनियाँ पक्षले नेपाली भूमिभित्र नहर र रोड बनाउन खोजेको तर सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरी बलको विरोधपछि उक्त कार्य रोकिएको थियो । चिनियाँ पक्षले ६ (१) नम्बर पिल्लरलाई तार बारले घेरेको र पिल्लर ६ (१) र पिल्लर ५ (२) को बीचमा आफ्नो उपस्थिति देखाउन खोजेको छ ।
चीनसँगको सीमा क्षेत्रमा समस्या देखिए पनि स्थानीयसमेत बोल्न नसक्ने स्थितिमा छन् । खास गरी तिब्बतीय बजारमा निर्भर रहने भएका कारण स्थानीयले सीमामा समस्या हुँदा बोल्न नसक्ने गरेको अवस्था छ ।
सन् १९६० मा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाको चीनको राजधानी बेइजिङ भ्रमणका बेला नेपाल र चीनबीच सीमा सहमति भएको थियो । त्यसपछि सन् १९६१ मा राजा महेन्द्र शाहको चीन भ्रमणका बेला दुई देशले सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् १९६३ मा भएका नक्साङ्कनहरूलाई अन्तिम रूप दिँदै नेपाल र चीनले सीमा सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । यद्यपि अहिले उक्त सीमा सम्बन्धी प्रोटोकल उल्लङ्घन भएको सङ्केत अध्ययन प्रतिवेदनले गरेको छ ।
यो प्रोटोकल सन् १९७९ र सन् १९८८ मा नवीकरण गरिएको थियो । प्रत्येक दश वर्षमा नेपाल र चीनबीच सीमाका विषयमा उच्चस्तरीय वैठक हुँदै आए पनि केही वर्षदेखि यो हुन सकेको छैन । दुवै देशका परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित सीमा समितिले सन् २००५ मा पनि काम गरेको थियो । सन् २००६ देखि सन् २०१२ सम्म पनि काम गरेको उक्त समिति अहिले निष्क्रिय रहेको छ।
यद्यपि हुम्लाका स्थानीय जनप्रतिनिधि तथा कांग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरी चीनले सीमा मिचेको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेपछि सीमा विवादले राष्ट्रिय महत्व पाएको थियो । यो प्रकरणमा चीनले नेपाली कांग्रेस र सांसद शाहीलाई अनेक आरोपसमेत लगाएको थियो । सीमा विवाद मौन राख्न चीनले कूटनीति दाउपेचदेखि नेपालको आर्थिक गतिविधिहरूसम्म असर पुग्ने किसिमका प्रपञ्च रच्ने गरेकोसमेत आरोप छ ।
नेपाली पक्षले सीमामा समस्या रहेको देखाए पनि चीनले भने सीमा विवाद नरहेको दाबी गर्दै आएको छ । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० औँ वर्षगाँठमा चिनियाँ राजदूत हाउ यान्छीले नेपाल र चीनबीच सीमा विवाद नरहेको धारणा राखेकी थिइन् ।