काठमाडौं । कोरोनाभाइरस (कोभिड १९)बाट जीवन रक्षा गर्ने नयाँ उपचार पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन्। महँगो मानिएको नयाँ उपचारमा एन्टीबडीलाई शरीरमा प्रवेश गराएर भाइरसलाई निर्मूल पार्ने काम हुने बीबीसीले उल्लेख गरेको छ ।
सस्तो औषधि डेक्सामेथासोनले कोभिडबाट हुन सक्ने मृत्युलाई कम गर्ने कुरा पत्ता लागेको एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को सफलता हात पारेको चर्चा भइरहेको छ ।
नयाँ उपचारमा ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने देखिएको छ। नयाँ उपचार पहिल्यै एन्टीबडी नबनाएका बिरामीहरूलाई मात्रै दिन सकिने र यसको मूल्य एक लाख २५ हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्म पर्ने बीबीसीले उल्लेख गरेको छ ।
रेजेनोरोनले विकास गरेको यो मोनोक्लोनल एन्टीबडी उपचारले कोरोनाभाइरसलाई नियन्त्रणमा लिने र कोषलाई सङ्क्रमण गर्नबाट रोक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । बेलायतका १० हजार बिरामीमा परीक्षणमा मृत्युको जोखिम, अस्पताल रहनुपर्ने अवधि औसतमा चार दिनले कमि र भेन्टिलेटरको आवश्यकता नपर्ने देखिएको दाबी गरिएको छ ।
संयुक्त प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रेको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘दुई एन्टीबडीको यो स्वरूपलाई रगतमा पठाउँदा मृत्युको सम्भावना २० प्रतिशतले घटाउँछ। अहिले हामीले पत्ता लगाएको कुरा चाहिँ यो एन्टीभाइरल उपचारले मृत्युको सम्भावना एक तिहाइ भएका बिरामीहरूलाई त्यस्तो जोखिम कम गर्छ।“
यो उपचार डेक्सामेथासोनसँगै दिइएको थियो। डेक्सामेथासोनले पनि सिकिस्त बिरामीहरूमा एक तिहाइसम्म मृत्युको जोखिम कम गर्छ। निको भएका बिरामीको रगतबाट एन्टीबडी भएको प्लाज्मा निकालेर गरिने उपचार कोभिडको उपचारमा प्रभावकारी नभएको पाइएको अर्का प्रमुख अनुसन्धानकर्ता सर पिटर होर्बीले बताएका छन् ।
तर यो नयाँ परीक्षणमा प्रयोग गरिएको उपचारमा प्रयोगशालामा निर्मित दुई निश्चित एन्टीबडीहरू कोरोनाभाइरसलाई बाँध्न सक्षम भएको दाबी गरिएको छ । सर होर्बीको भनाइ उद्धृत बीबीसीले लेखेको छ, ‘गम्भीर खालको कोभिड रोगमा पनि भाइरसलाई लक्षित गरेर आफै एन्टीबडी बनाउन नसकेका बिरामीहरूको मृत्युदर घटाउन सकिने कुरा थाहा पाउनु राम्रो हो।’