सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसहित काे-काे पक्राउ परे ?

काठमाडाैं । करीब एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा बिहीबार साँझसम्म एक जना चिनियाँ नागरिक सहित सात जना पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका हुन्। आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए।

एसपी विष्टका अनुसार तिब्बतीयन एअरलाइन्सबाट चीन जान लागेका वेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ। विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो। उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टयक्सी चालक अशोक रानामगर, भन्सार अजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल छन्।

सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ। त्यसका सञ्चालक भुजेल पनि पक्राउ परेका छन्। स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.