‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम लिएर नेपाल आयो चिनियाँ टोली

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम घोषणा भएपछि पहिलो पटक नेपालमा कार्यान्वयन गरिएको छ।

बिहीबार भक्तपुरमा माओवादी केन्द्रका महासचिव देव गुरुङले कार्यक्रमको उद्घाटन गरे। जहाँ अन्य पार्टीका प्रतिनिधि पनि सहभागी थिए।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका काउन्सिलर तु स्याओलिनको नेतृत्वमा चिनियाँ टोली सहभागी भएको थियो। उनले राष्ट्रपति सी चिनफिङको सिग्नेचर कार्यक्रम बेल्ट एन्ड रोड इनिसियटिभको दसौँ वर्षगाँठ पुगेको अवसरमा नयाँ कार्यक्रम घोषणा गरिएको बताए।

यसअन्तर्गत व्यावहारिक र जनस्तरका कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ थियो।

दक्षिणपूर्वी र दक्षिण एसियाका मुलुकहरुसँग अझ व्यावहारिक सहकार्य गर्ने भन्दै चिनियाँ कम्युनिस्ट पार्टीले सिल्क रोडस्टर कार्यक्रम अघि सारेको हो। यसअन्तर्गत पाँच परियोजना छन् : सिल्क रोड एम्बार्कमेन्ट, सिल्क रोड एम्पावरमेन्ट, सिल्क रोड एन्जोयमेन्ट, सिल्क रोड एन्लाइटमेन्ट र सिल्क रोड एन्हान्समेन्ट।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका अधिकारीहरु अहिले सिल्क रोड एम्बार्कमेन्ट र सिल्क रोड एम्पावरमेन्ट नामक कार्यक्रम लिएर नेपाल आएका हुन्।

यसअन्तर्गत ससाना तथा आम मानिसको जीवनमा प्रभाव पार्ने, व्यावासायिक परियोजना, सांस्कृतिक परियोजनाजस्ता कार्यक्रमलाई बढावा दिइने चिनियाँ पक्षले जनाएको छ।

कार्यक्रममा चिनियाँ व्यावसायिक संस्था तथा प्राविधिकहरु पनि सहभागी छन्। कार्यक्रममा सहभागीहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै चिनियाँ पक्षले केही सोलार बत्ती र कीटनाशक उपलब्ध गराएको छ।

सिल्क रोडस्टरले प्राविधिक सीप तालिम, जनसेवा, वैदेशिक अध्ययन, छोटो अवधिका आदानप्रदान, सांस्कृतिक प्रदर्शनीजस्ता कार्यक्रम गर्ने लक्ष्य लिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.