सिन्धुलीमा तीन किशोरीमाथि ९ युवकद्वारा सामूहिक बलात्कार

सिन्धुली : दसैंको टीका लगाएर घर फर्किने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका-५ को लब्दाहखोलास्थित ९ युवाको समूहबाट बलात्कृत भएको भन्दै ३ जना किशोरीले उजुरी दिएका छन् । सिन्धुलीको कमालामाई नगरपालिकाका ३ जना किशोरीका परिवारले ती युवकहरुविरुद्ध उजुरी दिएका हुन् ।

किशोरीका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफन्तकहाँ दसैं टीका लगाएर फर्किंदा शनिबार राति कमलामाई नगरपालिका-५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेका थिए । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कारमा संलग्न आरोपीमध्ये ३ जनालाई पक्राउ गरिएको छ । बाँकी ६ जना फरार छन् ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेका छन् । बलात्कार भएका किशोरीका अभिभावकले किटानीसहित ती यूवाहरूलाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिम लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । बलात्कारमा संलग्न फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार ३ जनामध्ये २ किशोरीको बलात्कारमा संलग्न २ युवकसँग चिनजान रहेको र बोलाएर जाँदा सामूहिक बलात्कारमा परेका थिए ।किशोरीहरूको मेडिकल जाँचका क्रममा पनि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।