सिन्जियाङमा हराएका बालबालिका खोज्ने प्रतिबद्धता चीनले पुरा गरेन

एजेन्सी । विगत दुई वर्षमा चिनियाँ अधिकारीहरूले सिन्जियाङ राज्यमा हराइएका भन्दै निवेदन परेका बालबालिकालाई पत्ता लगाउने वाचा गर्दै आएका छन् ।

हराएका बालबालिकाका सम्बन्धमा ‍चीनले उनीहरुलाई परिवारसँग अलग्याएको आरोप छ । ती अधिकारीहरू बालबालिकाहरूलाई आफ्ना परिवारबाट बलजफ्ती अलग पारिएको प्रमाणित गर्न चाहन्थे । जोन सुडवर्थका अनुसार उनीहरूले गरेका वाचा पुरा भएनन् ।

सन् २०१९ मा चीनले पहिलोपटक कालबिनुर टर्सनका बच्चाहरू पत्ता लगाउने सार्वजनिक रुपमै प्रतिबद्धता जनाएको थियो । त्यो वर्षको जुलाईमा बिबिसीलाई अन्तर्वार्ता दिँदै बेलायतका लागि तत्कालीन चिनियाँ राजदूत लिउ शाओमिङले भनेका थिए, ‘तपाईंसँग कसैको बालबालिका हराएको व्यक्ति हुनुहुन्छ भने नाम दिनुहोस् ।’

सिन्जियाङको सुदूरपश्चिम भेगमा ठूलो संख्यामा बालबालिकालाई उनीहरूको परिवारसँग छुट्याउने चिनियाँ नीति रहेको आरोप छ । जसमा कुनै सत्यता नभएको पूर्वराजदूत लिउले स्पष्टीकरण दिएका थिए । उनले यस्तो तथ्य पाएमा अनुसन्धान समेत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘हामी पत्ता लगाउँनेछौं, ती को हुन् र के गरिरहेका छन् भन्ने जानकारी गराउनेछौं,’ उनले भनेका थिए ।

सिन्जियाङको बहुसंख्यक टर्किक समुदायका एक सदस्य हुन्, कालबिनुर । उनी उइगर हुन् । कालबिनुर रातसम्म आफ्नो अपार्टमेन्टमा कपडा सिलाउने काम गर्छिन् । उनी सन् २०१६ मा भागेर त्यहाँ पुगेकी थिइन् । उनले चिनियाँ परिवार नियोजनसम्बन्धी कानुनविपरित मिर्जिया नामकी सतौँ सन्तान जन्माएकी थिइन् । उनी त्यहाँ पुग्दा आठ महिनाकी गर्भवती थिइन् ।

उनी भन्छिन्, ‘चिनियाँ अधिकारीहरूले म गर्भवती भएको विषय थाहा पाएको भए उनीहरूले मलाई गर्भ तुहान बाध्य पार्ने खतरा थियो ।’ उनले आफ्नो पेटमा फेटा बाँधेर प्रत्येक दिन दुई घन्टा लगाएर सीमाना कटाइन् ।

कालबिनुरले आफ्ना सबै बालबालिकाका लागि पासपोर्ट लिने प्रयास नगरेकी होइनन् । तर चीनको सिन्जियाङको कडा प्रतिबन्धका कारण उनको प्रयास असफल रह्यो । उनले आफ्नो सन्तालाई छोड्नुपर्ने बाध्यता आइलाग्यो । उनको पतिसँग डकुमेन्ट प्राप्त भएपछि फर्किने अपेक्षा थियो ।

उनी बाहिरिँदै गर्दा उनलाई आफ्नो बालबालिका भेटिएला भन्ने झिनो आश पनि थिएन । चीनको सुदूरपश्चिम भेगमा गोप्यरुपमा ठूलो संख्यामा रहेका मानिसहरूलाई कैदी बनाउने अभियान चलिरहेको भनिएको छ । पुन:शिक्षा दिने भन्दै गोप्य ढंगले शिविर सञ्‍चालन गरिरहेको उल्लेख छ ।

चिनियाँ अधिकारीहरू भन्छन्, धार्मिक अतिवादसँग जुझ्नका निम्ति उइगरहरूलाई “प्राविधिक प्रशिक्षण केन्द्रहरू”मा शिक्षा दिइँदैछ। तर आस्था जाहेर गरेकै कारण – प्रार्थना गरेकोमा अथवा महिलाले निकाब लगाएकोमा – वा टर्कीजस्तै अन्यत्र सम्पर्क स्थापित गरेकोमा उनीहरूलाई कैद गरिएको प्रमाणहरूबाट देखिन्छ ।

यी उइगरहरूका लागि घर फर्कनु भनेको त कैदमा पर्नुजस्तै हुन्छ । फोन सम्पर्क पनि टुटाइएको छ – सिन्जियाङमा भएकाहरूलाई त विदेशमा रहेका आफन्तसँग कुरा गर्नु पनि निकै खतरनाक हुन्छ ।

सिन्जियाङमा वयस्क मुस्लिमहरूलाई सामूहिक रूपमा कैदमा राख्ने गरेको घटनाबारे ठूलो स्तरमा जानकारी बाहिर ल्याउने श्रेय जर्मन अनुसन्धानकर्ता एड्रिआन जेन्जलाई दिइन्छ।

सार्वजनिक रूपमा उपलब्ध दस्तावेजहरूमा आधारित उनको रिपोर्टले सिन्जियाङमा अनपेक्षित रूपमा विद्यालयहरू विस्तार गर्ने कार्यबारे एउटा तस्वीर दिन्छ । क्याम्पसहरू ठूला पारिएका छन्, नयाँ हल निर्माण गरिएका छन् र मान्छे अट्ने क्षमता ठूलो स्तरमा बढाइएको छ।

कैदी शिविरहरूको निर्माण गर्दै गर्दा राज्यले ठूलो सङ्ख्यामा बालबालिकालाई पूर्णकालीन हेरचार गर्न सक्ने क्षमता बढाइरहेको छ। र, त्यो स्पष्ट रूपमा तिनै आदिवासी समूहका लागि लक्षित देखिन्छ ।

फलस्वरूप सिन्जियाङमा प्रि-स्कूल भर्ना हुनेको सङ्ख्या राष्ट्रिय औसत दरभन्दा तल रहेकोमा अहिले बढेर उच्च विन्दुमा पुगेको छ । त्यसअन्तर्गत ठूलो संख्यामा हलहरूको निर्माण कार्य पनि समावेश गरिएको जेन्जको विश्लेषण छ । गत वर्षको एप्रिलमा काउन्टी अधिकारीहरूले वरपरका गाउँका दुई हजार बालबालिकालाई एउटा ठूलो बोर्डिङ स्कूलमा सारे ।

यो वर्षको सुरुवातमै लिउ शाओमिङको आफ्नो राजदूतको कार्यकाल सकिएको छ । बेलायती राजनीतिज्ञ तथा पदाधिकारीहरूले बिदाई समेत गरे ।

सिन्जियाङमा गरिएको रिपोर्टिङलाई लिएर जोनमाथि थुप्रै धम्की आइरहेको उनी बताउँछन् । उनले दुई वर्षअघि अन्तर्वार्ता लिएका एक अधिकारी शु गुइस्याङबाट प्रत्यक्षरुपमा धम्की आएको उनले बताएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सञ्‍चालित मिडियामा बिबिसीले भ्रमपूर्ण समाचार प्रकाशन गरेको र व्यावसियक मर्यादा तोडेको बताएका थिए ।

बिबिसीले चिनियाँ विदेश मन्त्रालयमा सरकारको कुनै निकायले हराएका व्यक्ति पत्ता लगाउने आफ्नो वाचाको सम्बन्धमा सम्पर्क गर्न खोजेको थियो । तर यो रिपोर्ट प्रकाशित हुँदासम्म कुनै प्रतिक्रिया आएको छैन ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.