सम्पत्ति शुद्धीकरणका प्रमुखलाई प्रधानन्यायाधीशका भाइले थर्काएपछि…

काठमाडौं । गत साता आफू  हुँ भन्दै एक व्यक्ति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा पुगे ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भेट्न उनी त्यहाँ गएका थिए । आफूलाई प्रधानन्यायाधीशको भाइ भन्दै विभागका हाकिमलाई थर्काउन कुनै मुद्दा विशेष लिएर विभाग पुगेपछि विभागका प्रमुख भट्टराईले उनीसँग धेरै कुरा नगरी त्यसबारेमा बुझ्न सम्बन्धित अधिकारीका पठाए ।

अनुसन्धान अधिकारीको कोठाभित्र पसेर पनि उनले हप्कीदप्कीकै शैलीमा अनुसन्धानबारे चासो राखे । विभागमा गएर त्यसरी हैकमी शैली देखाएकोमा विभागका कर्मचारी समेत आश्चर्यमा परे । यसरी कर्मचारीलाई थर्काउने व्यक्ति प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका आफ्नै भाइ प्रभुशम्शेर राणा हुन् भन्ने कुरा त्यहाँका कर्मचारीले थाहा पाए ।

प्रधानन्यायाधीशका भाइ हाल जेलमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दालाई लिएर धम्क्याउन विभाग गएका थिए । यसबारे विभागमा बुझ्दा त्यहाँका कर्मचारीले भने– ‘उहाँ दीप बस्न्यातको मुद्दाबारे बुझ्न आउनुभएको थियो’, विभागका एक कर्मचारी भन्छन्, ‘उहाँले आफ्नो मात्र होइन, प्रधान्यायाधीशकै समेत गरिमा घटाएर जानुभयो ।’

स्रोतका अनुसार बस्न्यातमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । उनका आसेपासेलाई समेत विभागले विदेश जानबाट रोक लगाएको छ । सबैको बयान समेत सकिएको छ । मुद्दा चलाउने अन्तिम तयारी रहेको थाहा पाएपछि राणा प्रधानन्यायाधीशको पावर देखाएर विभाग गएका थिए ।

अख्तियारले बस्न्यातका छोरा, मेनपावर व्यवसायी भिम रोका लगायतलाई मुद्दा चलाउने तयारी गरेको छ । रोका उनै प्रभुमार्फत करोडौंको चलखेलमा लागेका छन् ।

बालुवाटार जग्गा हिनामिना प्रकरणमा बस्न्यात हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध उनी सर्वोच्च गएका छन् । सर्बोच्चबाट छुटाउने जिम्मा पनि उनै प्रभु शमशेरले लिएको स्रोत बताउँछ । ‘आजभोलि मुद्दा दायर नहुँदै सफाईको सेटिङ हुन थालिसकेछ,’ विभागका एक अधिकारीले भने । राणाले मुद्दा जिताइदिने भन्दै खुलेआम बार्गेनिङ गरेका कतिपय अडियो तथा भिडियो समेत प्राप्त भएको छ । सुधीर बस्नेत र एआईसी एसिया बैंकको विवादमा पनि उनै राणाले चलखेल गरेका थिए ।

प्रभुशमशेरकै कारण प्रधानन्यायाधीशमात्र होइन सिंगो न्यायालय नै बदनाम हुँदै गएको चर्चा नेपाल बार एशोसियसनमा समेत छ । मध्येबानेश्वरमा उनले ठूलो सपिङ कम्प्लेक्स बनाएका छन् ।

त्यसको स्रोतसमेत खुलेको छैन । बैंकको ऋण देखाए पनि त्यो सपिङ कम्प्लेक्समा कालोधनको प्रयोग भएको छ । यस विषयमा राणाको लगानीका विषयमा समेत विभागले अनुसन्धान गर्नु जरुरी छ,आजको दृष्‍टि साप्ताहिकमा खबर छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.