वैकल्पिक विधिबाट एमसीसी पारित गर्ने तयारी

काठमाडौं – सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसिसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारिसकेको छ। सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू छलफलमा जुटेका थिए। देउवासँगको सो विषयमा कुराकानीपछि शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।

देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए। संसद्मा एमसिसी पेस भएपछि निरन्तर दौडधुपमा रहेका सत्ता गठबन्धन दलकै नेताहरूको संवाद बिनानिष्कर्ष टुंगिदै आएको थियो ।

फागुन ८ मा एमसिसी संसद्मा पेस भएपछि सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस पक्षमा र वामपन्थी घटक विपक्षमा उभिंदा सरकारले प्रमुख प्रतिपक्षीको सहयोग खोज्नुपर्ने अवस्था आएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.