काठमाडौँ । विदेश पठाउने भन्दै पाकिस्तानबाट काठमाडौं आएका एक पाकिस्तानी नागरिक अपहरणमा परेका छन् । पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका हुन् ।
पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई समेत पक्राउ गरेको छ ।
पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । उनका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती उनीहरुलाई पक्राउ गरेको हो ।
जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए । यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिएर फैजानलाई लगेर हातखुट्टा बाँधेर राखेका थिए ।
झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए । बन्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन् । आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।