वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् ।

नक्कली छोरीको जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । बुधबार आफैँ प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार दुवै जना प्रहरी हिरासतमा छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई यही २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो ।

भण्डारीविरुद्ध झुट्टा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडाध्यक्ष र सचिव पनि अनुसन्धानमा परेका हुन् । रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताए । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गरेका थिए । उनले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.