दाङ : रोल्पामा बिहीबार बेलुका ६ बजे बस दुर्घटना हुँदा चालक वीरमान घर्तिमगर सहित ४ जनाको मृत्यु भएको छ। तीन पुरुष र एक महिलाको ज्यान गएको हो। दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका-४ तालाबाङको तार्केबाङ सडक खण्डमा दुर्घटना भएको थियो।
साँझ ६ बजेतिर तार्केबाङ स्थित जलजला होटेलको नजिकैको सहिद मार्गबाट बस माडी खोलामा खसेको हो। बस सडकबाट करिव १ सय फिट तल खोलामा खसेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाए। दुईजनाको शव निकालिएको छ भने दुईको शव बसले च्यापेका कारण निकाल्न सकिएको छैन। मृतकको सनाखत भैसकेको छैन।
दुर्घटनामा १८ जना घाइते छन् । १२ जनाको जना घाइतेको घर्तीगाउँ स्थित स्मृति हस्पिटलमा र ६ जनाको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिंदैछ। स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि ३ जनालाई रोल्पा अस्पताल रेउघा रेफर गरिएको उद्दारमा सक्रिय युवा पशुपति घर्तीले जनाए। घाइते केहीको अवस्था सामान्य रहेको छ।
दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी प्रमुख शुधिर खडका सहितको प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्। बस खोलामा आधा भाग डुबेका र अध्याँरोका कारण उद्दारमा कठिनाइ भएको छ। बस के कति कारणले दुर्घटना भएको भन्ने खुलेको छैन। दाङको राप्ती समितिको बस पूर्वी रुकुम र जलजला घुमफिरमा जान रिजर्व गरिएको बुझिएको छ। घोराहीबाट १३ जना यात्रु लिएर हिंडेको बसमा बीच बाटोमा अन्य यात्रु चढेका थिए।