रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही : जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो ।

बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले जानकारी दिए ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्र सिद्धार्थनगर- १ बाट अन्दाजी ९० हजार र प्रहरी चौकी मेउडिहवा रूपन्देहीबाट खटिएको प्रहरी टोलीले ६५ हजार रुपैयाँभन्दा बढीका विभिन्न किसिमका २६२ प्याकेट, प्रहरी चौकी मर्यादपुरले कोटहीमाई ऐलिडियाबाट ५० हजार रुपैयाँभन्दा बढीको साइकलसहित दुई बोरा पटाका बरामद गरी नष्ट गरेको जनाइएको छ ।

प्रहरी चौकी मैनिहवाले रोहिणी- २ भगवानपुर चोकबाट ३६ हजार रुपैयाँभन्दा बढीको २०० प्याकेट, इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी कालीदहले ३५ हजार रुपैयाँभन्दा बढीको ५०० प्याकेट र इलाका प्रहरी कार्यालय मंगलापुरले तिलोत्तमा- १५ पत्थरडाँडाबाट ३२ हजार रुपैयाँ बराबरको १२२ प्याकेट अवैध पटाका बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तिहार नजिकिँदै गर्दा सीमापारिबाट व्यावसायिक र व्यक्तिगत प्रयोगका लागि पटाका भित्रिने क्रम बढेको छ । प्रहरीले यसअघि पनि १० लाख रुपैयाँभन्दा बढीको पटाका बरामद गरी नष्ट गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.