रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

काठमाडौं । पश्चिम रुकुम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ ।

विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु गरेको हो । समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताए ।

उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए । उनले भने, ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र हामी प्रारम्भिक छलफल सुरु गरेका छौं । कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भिरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं ।

यो नेपालको खासगरी अनुसूचि फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपाल भित्र ल्याउने ऐतिहासिक दिन भएको हुँदाखेरी त्यो दिनमा भोट हालेर हामी लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पुरा गर्नको निम्ति हामी जाने छौं ।’

प्रतिनिधिसभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो । समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल रहेका छन् भने सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), बिमला विक, महेश्वरजङ्ग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्ने छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.