यौन दूराचारका आरोपित अधिकारी वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं : सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका युवराज अधिकारीविरुद्ध ४ वर्ष अगाडि कार्यलयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी परेको खुलेको छ।

नेपाल वायुसेवा निगममा अर्थ निर्देशक रहेका बेला अधिकारीले आफूहरुमाथि यौनजन्य हिंसा गरेको भन्दै अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरुले राष्ट्रिय महिला आयोगमा अधिकारीविरुद्ध उजुरी दिएका थिए।

महिला आयोगमा दिइएको उजुरीमा अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख थियो।

अधिकारीविरुद्ध महिला कर्मचारीहरुले २०७४ भदौ २७ गते दिएको पत्र महिला आयोगले १४७ दर्ता नम्बरका साथ २०७४ असोज १ गते दर्ता गरेको थियो।

‘पीडित’ महिला कर्मचारीले उजुरीमा उल्लेख गरेअनुसार अधिकारीले पटक–पटक आफ्नो कार्यकक्षमा बोलाइ पदोन्नतिका लागि कार्य सम्पादन मूल्याङ्कनको प्राप्ताङ्क बढाइदिने, विदेशस्थित स्टेशनमा काज मिलाइदिने र राम्रो ठाउँमा सरुवा तथा जिम्मेवारी मिलाइ दिने आदि प्रलोभन दिने गरेका थिए। उनले महिला कर्मचारीलाई विदेश घुम्न जान तथा रमाइला गर्नका लागि समेत प्रस्ताव राख्न गरेका थिए।

अधिकारीको व्यवहारले कार्यस्थलमा सहज, सुरक्षित तथा सम्मानपूर्वक मर्यादित वातावरणमा काम गर्न नपाइएको भन्दै पीडित महिला कर्मचारीले उनीमाथि कारबाहीको माग गरेका थिए। अधिकारीलाई पक्राउ गरी कानुनको दायरमा ल्याएर हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरिएको थियो।

तर, महिला आयोगमा दिएको उजुरीको सन्दर्भमा कुनै कारबाही भने भएन। पछि २०७४ कात्तिक ६ गते अधिकारीले आफ्नो गल्तीका लागि माफी माग्ने र आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्‍याउने सर्तमा मिलापत्र भयो।

निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारको पहलमा अधिकारीले आगामी दिनमा गल्ती (यौन हिंसाजन्य क्रियाकलाप) नदोहोर्‍याउने सर्तमा मिलापत्र भएको थियो। उक्त मिलापत्रमा पीडित पक्षले अधिकारीविरुद्ध अन्य कुनै निकायमा उजुरी नदिने ‘सहमति’ समेत भएको थियो।

नेपाल वायुसेवा निगमको विभिन्न विभागमा रहँदा महिला कर्मचारीमाथि यौनजन्य हिंसा गरेको भन्दै विवादमा तानिएका अधिकारीले केही वर्ष अगाडि सेवाबाट अवकाश पाएका थिए। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग ‘निकट सम्बन्ध’ रहेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। साभार नेपाल लाइभबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.