काठमाडौं : यूएईको अबुधावीस्थित नेपाली दूतावासले नेपाली कामदारको समस्या नसुन्ने गुनासो बढिरहेको छ। दूतावासको सम्पर्क नम्बरमा पनि कुनै रेस्पोन्स हुन छाडेको त्यहाँस्थित नेपालीहरुले आरोप लगाउन थालेका छन्।
गुनासो बढ्न थालेपछि दूतावासले जेठ २१ मा विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई सम्पर्क गर्न भन्दै दूतावासको नम्बरसहितको सूचना जारी गर्योस। तर, ती नम्बरमा पनि फोन रिस्पोन्स हुन नसकेको यूएईको दुबई, अबुधावीलगायत सहरमा भएका नेपालीहरुले गुनासो गरेका छन्।
दूतावासले कुनै रेस्पोन्स नगरेपछि सञ्चार माध्यममा यसबारे समाचार आउन थालेको उल्लेख गर्दै दूतावासले सञ्चार माध्यममा आएका समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीका सम्बन्धमा राजदूतावासको ध्यानाकर्षण भएको जनाएको छ।
यसैगरी, दूतावासले नेपाल जान चाहने १७ हजार बढी रहेकोमा पहिलो फ्लाइटमा ४१० जनामात्र लगिने मंगलवार जनायो।
सामाजिक सञ्जाल फेसबुकमा भनिएको छ, ‘दूतावासले पहिलो चरणमा यस राजदूतावासमा प्राप्त विवरण संकलन फारामअनुसार नेपाल फर्कन चाहने नेपालीहरूको जम्मा संख्या १७ हजार ३७५ रहेको व्यहोरा सम्बन्धित निकायमा पठाइएको जानकारी गराइन्छ। उललेखित ४१० संख्या पहिलो दुई हवाइ उडानका लागि तयार गरिएको यात्रुको संख्या रहेको सम्बन्धित सबैलाई सूचित गरिन्छ।’
४१० जनालाई पहिलो फ्लाइटमा उडाउने भनिए पनि उक्त दिनको टुंगो लागेको छैन।
गत शुक्रवार सूचीमा परेका नेपालीलाई उडाउने भनेपछि तयारी अवस्थामा रहेका यूएईका नेपालीहरु उड्न पाएनन्। निजी कम्पनीबाट १६८ जना नेपालीलाई उडाएपछि उनीहरु आइतवार नेपाल जाने प्रक्रियाबारे बुझ्न दूतावास पुगेका थिए। तर, दूतावासले प्रक्रिया पूरा भइनसकेको जनाउँदै उनीहरुलाई त्यहाँबाट फर्काएका थिए।
त्यसैगरी, मंगलवार नै दूतावासले ल्यान्डलाइन नम्बर र डेडिकेटेड नम्बरसहितको सूचना पनि सार्वजनिक गरेको थियो। समस्यामा रहेका नेपालीहरुको फोन सम्पर्क चाप बढेको जनाउँदै जारी गरिएको उक्त सूचना दूतावासले एक घण्टामै हटायो। त्यही सूचना दूतावासले बुधवार अपलोड गरेको छ।
उक्त सूचना जारीपछि सामाजिक सञ्जालमा कतिपयले दूतावासको काम फेसबुकमा पोस्ट गर्ने बाहेक केही नभएको आक्रोश व्यक्त गरेका छन्। पहिलाे पाेष्टबाट सभार