यस्तो थियो महराको चिनियाँ नागरिकसँगको टेलिफोन संवाद

काठमाडाैं । सुन तस्करीमा संलग्न व्यक्तिसँग पटक पटक फोन गरेको तथ्य बाहिरिएसँगै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको चिनियाँ नागरिकसँगको पुरानो टेलिफोन संवाद पनि चर्चामा आएको छ। संवादमा के कुराकानी भएको थियो?

हङकङबाट आएको साढे ६० किलो सुन बरामद भएसँगै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पनि चर्चामा छन्। यसअघि बरामद भएको नौ किलो सुन तस्करी प्रकरणमा महराको नाम जोडिएको छ।

सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनले पटक पटक फोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा देखिएको छ। यो तथ्य बाहिरिएसँगै महराको पुरानो टेलिफोन संवादबारे पनि चर्चा भइरहेको छ।

सांसद खरीदका लागि महराले चिनियाँ नागरिकसँग रकम मागेको अडियो नेपाल वान टेलिभिजनले सार्वजनिक गरेको थियो। २०६७ भदौ १८ गते सार्वजनिक भएको अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेका सुनिन्छ। त्यसका लागि उनी हङकङ जान पनि तयार भएका थिए।

महरा र चिनियाँ नागरिकबीचको टेलिफोन संवाद:

चिनियाँः चुनाव आउँदै छ भन्ने सुनिन्छ, के हुँदै छ?

महराः हो, चुनाव निकट आएको छ। तर, कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन।

चिनियाँः के माओवादीले राम्रै स्थान ल्याउला भन्ने सोच्नुभएको छ?

महराः त्यस्तो सम्भावना छैन। तर, हामीले प्रयास गरिरहेका छौं। धेरै गाह्रो छ।

चिनियाँः केले समस्या बनाएको हो त?

महराः हामीसँग १० देखि १५ वटा त पहिल्यै छ। ५० हाराहारी आउँछ होला।

चिनियाँः अर्को, ५० चाहियो हैन त?

महराः हो, पाँचलाई सुन्ना पचास।

चिनियाँः तपाईंहरूलाई ५० सीट ल्याउन कस्तो खालको सहयोग गर्न सक्छौं त?

महराः यो चाहिं अलि गाह्रै काम हो किनभने दक्षिणले उनीहरूलाई सहयोग गरिरहेको छ। दक्षिणलाई ‘न्यूट्रलाइज’ गर्न र दोस्रो कुरा केही पैसा चाहिन्छ।

चिनियाँः कति जति चाहिन्छ होला?

महराः म यसै भन्न सक्दिनँ। मैले यसबारे अध्यक्षसँग कुरा गर्नुपर्छ।

चिनियाँः मेरा एक जना साथी छन्। जसले तपाईंलाई सहयोग गर्ने कुरा गरिरहेका छन्। भेटेर कुरा गर्नुपर्छ?

महराः भेट्नका लागि तपाईंलाई कहाँ पायक पर्छ?

चिनियाँः हङकङ हुन्छ?

महराः उनले कोसँग भेट्न चाहेका हुन्?

चिनियाँः तपाईं र अध्यक्षसँग मात्रै, अरूसँग होइन।

महराः तर, हाम्रो अध्यक्षलाई आउजाउ गर्न साह्रै गाह्रो छ। उहाँ हङकङ जानुभयो भने सबैले उछाल्छन्। किनभने उहाँ पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ।

चिनियाँः त्यसो भए तपाईंले उहाँको प्रतिनिधित्व गर्दै मेरो साथीलाई भेट्न सक्नुहुन्छ कि!

महराः हुन्छ, हुन्छ। म जहाँ आउन पनि तयार छु। म यहाँ, त्यहाँ, जहाँ पनि जान सक्छु तर यो सन्देश उहाँकहाँ पुर्‍याउनै पर्छ। उहाँलाई निम्ता पुग्नुपर्‍यो र अनि उहाँले मलाई पूर्ण जिम्मेवारी दिनुहुन्छ।

चिनियाँः हाम्रो योजना के छ भने पहिला हामी तपाईसँग भेट्न चाहन्छौं। हामी सबै कुरा विस्तृतमा गर्नेछौं। ५० सीट ल्याउन के सहयोग गर्न सकिएला भनेर छलफल गर्नेछौं।

महराः त्यसका लागि महत्त्वपूर्ण ठाउँ चीन नै हुन्छ होला। चीनको छेन्दुमा। छेन्दु राम्रो ठाउँ हो। कसैलाई थाहा पनि हुँदैन।

चिनियाँः तर यो संवेदनशील विषय हो, हामी वर्तमान सरकारसँग कुनै खालको हस्तक्षेप चाहँदैनौं।

महराः त्यसो हो भने सिंगापुर अर्को ठाउँ छ नि!

चिनियाँः सिंगापुर कि हङकङ?

महराः हङकङमा धेरै नेपाली छन्। त्यहाँ उनीहरू हुन्छन्। त्यसैले सिंगापुर नै राम्रो हुन्छ।

चिनियाँः ल म आफ्नो साथीसँग कुरा गर्छु।

महराः आज साँझ म तपाईंलाई फोन गर्छु, हुन्छ?

चिनियाँः  हुन्छ, हुन्छ। हङकङमा सम्भव हुन्छ कि भन्ने हेर्नुहोला।

महराः हुन्छ, म यही नम्बरमा तपाईंलाई फोन गर्छु।

चिनियाँः हुन्छ, ल म तपाईंको फोनको प्रतीक्षामा हुन्छु।

महराः हुन्छ, तपाईंले आफ्नो स्रोतबाट अध्यक्षज्यूकोमा पनि सन्देश पुर्‍याउनुहोला।

चिनियाँः के तपाईंले मलाई अध्यक्षसँग पनि कुरा गरोस् भन्न चाहनुभएको हो?

महराः हुन्छ, म फोन गर्छु।

चिनियाँः हुन्छ, हुन्छ।

०००

चिनियाँः हेलो महराज्यू!

महराः हजुर, हजुर। के छ? सन्चै हुनुहुन्छ?

चिनियाँः ठीक छ, ठीक छ। धन्यवाद! मलाई त तपाईंले हिजो फोन गर्नुहोला भन्ने लागेको थियो।

महराः हिजो बेलुका मैले फोन गर्न सकिनँ। त्यही भएर मैले आजै बिहान फोन गरें।

चिनियाँः ए, ठीक छ ठीक छ।

महराः तपाईंको सुझावबारे मैले अध्यक्षज्यूसँग कुरा गरें। कोही अर्को व्यक्तिले पनि अध्यक्षज्यूसँग कुरा गरिरहेको छ भन्ने कुरा आयो, के त्यो सही हो?

चिनियाँः मेरो तर्फबाट त होइन। मेरो साथी र मैले त तपाईंसँग मात्र कुरा राखेका छौं।

महराः तर त्यो कुरा कुनै ठोस रूपमा गएको छैन। अध्यक्षज्यूसँग कुराकानी गर्दा उहाँले के भन्नुभयो भने अब त चुनावका लागि चार दिन मात्रै बाँकी छ। हामीलाई ५० सदस्य आवश्यक छन्। त्यो हासिल गर्न एक जनालाई कम्तीमा पनि १० लाख नेपाली रुपैयाँ चाहिन्छ।

चिनियाँः त्यसो भए नेपाली सय लाख चाहियो, हैन?

महराः हो।

चिनियाँः तर पहिला भेट्नु नै पर्नेछ, किनभने केही कुरा विस्तृत रूपमा गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईं हङकङ आउन सक्नुहुन्न?

महराः तर त्यहाँ धेरै नेपाली छन्। के गर्ने होला?

चिनियाँः अर्को देशमा जाँदा मेरो साथीलाई विशेष भिसा लिनुपर्ने हुन्छ, तर हङकङमा उहाँ सजिलै जान सक्नुहुन्छ। कसैले थाहा पनि पाउँदैनन्।

महराः कहिले त?

चिनियाँः जहिले भए पनि हुन्छ। हामी त खुला नै छौं त्यसमा। तर तपाईं कहिले आउन सक्नुहुन्छ?

महराः अब चार दिन मात्रै बाँकी छ। अलि छिटै गर्नुपर्ने हुन्छ। म भोलि आऊँ त?

चिनियाँः हुन्छ।

महराः कि आजै गरूँ?

चिनियाँः तपाईं हङकङमा कति बस्नुहुन्छ, एक रात?

महराः अँ, एक रातले पुगिहाल्छ।

चिनियाँ: हुन्छ।

महराः ल म तपाईंलाई नेपालको १२ बजे फोन गर्छु है त! म आजै साँझ पनि आउन सक्छु।

चिनियाँः हुन्छ, हुन्छ।

महराः ल मेरो इमेल हेर्नुहोला १० मिनेटमा।

चिनियाँः म एउटा मीटिङमा जाँदै छु। नेपालको १० बजेसम्म म इमेल चेक गर्न पाउँदिनँ होला।

महराः हुन्छ, १० बजे इमेल हेर्नुहोला।

चिनियाँः तपाईं हङकङमा कहाँ बस्नुहुन्छ, मलाई भन्नुहोला। ताकि तपाईंलाई भेट्न सकूँ।

महराः हुन्छ, हुन्छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.