मित्र राष्ट्र र राष्ट्र प्रमुखको विरोध नगर्न सरकारको निर्देशन, गरे कारबाही हुने (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले मित्र राष्ट्रको प्रधानमन्त्रीको प्रतिष्ठानाम आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने जस्ता क्रियाकलापहरु गरेको भन्दै आपत्ति जनाएको छ ।

गृहमन्त्रालयले आइतबार (आज) एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रका प्रमुखको प्रतिष्ठामा आँच आएको भन्दै त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ ।

‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृहमन्त्रालको गम्भीर आपत्ति आपत्ति प्रकट गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध स्थापना गर्न चाहने भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

‘नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमीमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’जारी विज्ञप्तिमा भनिएको छ ।

दार्चुलाका ३३ वर्षीय युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने तथा भारत विरोधी नाराहरु चर्किरहेको छ ।

सोही क्रममा सरकारले मित्र राष्ट्रहरुसँगको समस्या वार्ता, संवाद र कुटनीतिक माध्ययमबाट गरिँदै आएको र गरिने भन्दै त्यस्ता क्रियाकलाप गर्नेहरुलाई कारबाही गर्ने समेत बताएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद रकुनटीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ । भविष्यमा पनि उत्पन्न हुने समस्याहरुलाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधानको गरिनेछ । मित्र राष्ट्रविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’