काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले डिजिटल सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) ट्रायल परीक्षा पास गरेकै दिन वा भोलिपल्ट पाउने गरी व्यवस्था मिलाउन लागेको बताएका छन् ।
सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेपछि लाइसेन्स लिन लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न लागेको उनको भनाइ छ । गत असार २० गते पदभार ग्रहण गर्दै मन्त्री राईले स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको समस्या समाधानबारे १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गरेका थिए ।
आज मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राईले समितिको प्रतिवेदन आउन लागेको र अब ट्रायल पास गरेकै दिन वा भोलिपल्टसम्ममा लाइसेन्स पाउने गरी व्यवस्था मिलाउन लागेकाे बताए ।
सो क्रममा उनले सातै प्रदेशमा स्मार्ट लाइसेन्स छाप्ने व्यवस्था गर्न लागेको पनि जानकारी दिए । सुदूरपश्चिम र कर्णाली प्रदेशको एकठाउँ, गण्डकी र लुम्बिनीको एक ठाउँ र मधेस र प्रदेश नं १ को एकठाउँ गरी सातै प्रदेशमा लाइसेन्स छाप्ने तयारी गरिएको उनको भनाइ छ ।