मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त, बढी अंक दिएको र प्रश्न पत्र आउट गरेको पुष्टि

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले परीक्षामा अनियमितता भएको भन्दै दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।

बर्खास्तमा पर्नेहरु इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुल अफ लका उपप्राध्यापक सुजन पन्त रहेका छन्।

निर्देशक यादवले आर्थिक प्रलोभनमा परीक्षामा सहभागि नै नभएका विद्यार्थीलाई आफुखुशी नम्बर दिएर पास गराएको र उपप्राध्यापक पन्तलाई परीक्षामा प्रश्न पत्र आउट गरेको निष्कर्षसहित बर्खास्त गरेको हो।

दुवै परीक्षाको छुट्टाछुटै छानबिन गर्न गठित समितिले परीक्षामा अनियमितता भएको निष्कर्षसहित उपकूलपति प्रा.डा. नन्दबहादुर सिंह समक्ष प्रतिवेदन पेश गरेको थियो। सोही आधारमा अक्षम्य शैक्षिक अपराध गरेको भन्दै दुवै उपप्राध्यापकलाई बर्खास्त गरिएको उपकूलपति सिंहले जानकारी दिए।

उपप्राध्यापक यादवले ४० नम्बरको प्रयोगात्मक परीक्षामा शतप्रतिशत नम्बर दिएका थिए भने पन्तले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएको थियो। उपप्राध्यापक पन्तले यसअघि प्रवेश परीक्षा अगावै प्रश्न पत्र समेत आउट गरेर विद्यार्थीको हातमा पुगेको थियो।

निर्देशक एवं स्थायी उपप्राध्यापक यादव र करार सेवाका उपप्राध्यापक पन्त छानबिनको घेरामा आईसकेपछि निलम्बना परेका थिए।

उपकूलपति सिंहले अब विश्वविद्यालयलाई सुधार गर्ने अभियानमा आफूहरु लागेको भन्दै विश्वविद्यालयको इतिहासमा कर्णालीको इज्जत जोगाउन र जनताको छोराछोरीको भविष्य बचाउन उनीहरुलाई बर्खास्त गरिएको बताए।

विश्वविद्यालय सबैको साझा भएकाले सबैले मिलेर बनाउनुपर्छ भन्दै उनले मान्छे मारिसकेपछि मलाई माफी दिनुस् भन्दैमा कानूनले समेत क्षमा नदिने बताए।

गरिब जनताका छोराछोरी पढ्ने विश्वविद्यालय भएकाले कुनै पनि भ्रष्टाचार अनियमितता सह्यै नहुने उनको भनाइ छ। विश्वविद्यालय सबैको साझा भएकाले भ्रष्टचारमा शून्यसहनसिलतालाई आत्मसाथ गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्ने उनले दाबी गरे।