लण्डन । बेलायतमा रहेको तिब्बती अभियानकर्मीहरुको समूहले चीनको जेलमा रहेका तिब्बतीहरुको तत्काल रिहाइको माग गरेका छन् । बेलायतस्थित चिनियाँ दूतावासबाहिर विरोध प्रदर्शन गर्दै उनीहरुले विभिन्न बाहनामा तिब्बतीहरुलाई पक्राउ गर्ने कार्यको कडा निन्दा गरेका छन् । साथै उनीहरुले पक्राउ परेकाहरुलाई तत्काल रिहाइ गर्न माग समेत गरेका छन् ।
बेलायतमा रहेका तिब्बती कार्यकर्ताको समूहले मंगलबार लण्डनमा बेपत्ता पारिएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा चिनियाँ दूतावास बाहिर ‘राजनीतिक कैदीहरुलाई रिहाई’ गर्नुपर्ने भन्दै नाराबाजी गरेको थिए । लण्डनस्थित फ्री तिब्बत, तिब्बतको ग्लोबल एलायन्स र चिनियाँ यातनामा परेका अल्पसंख्यकहरु, तिब्बती समुदाय युके र अन्तर्राष्ट्रिय तिब्बत नेटवर्कले उक्त विरोध प्रदर्शनलाई समर्थन गरेको थियो ।
अगस्त १ मा चिनियाँ प्रहरी अधिकारीहरुले एक तिब्बती शिक्षक रिन्चेन कीलाई पक्राउ गरेका थिए । यससँगै दलाई लामाको तस्बिर राखेको भन्दै चिनियाँ प्रहरीले १९ जना भिक्षुहरुसहित ६० जनालाई पक्राउ गरेको थियो ।
त्यसैगरि चिनियाँ भाषालाई अनिर्वाय पठनपाठनको भाषा बनाउनुपर्ने नियमको विरोध गरेको भन्दै दुई विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको छ । यससँगै घोडा दौड प्रतियोगितामा चिनियाँ अधिकारीहरु देखिने तस्बिर सामाजिक सञ्जालामा राखेको भन्दै दुई दर्जन चिनियाँहरुलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय चिनियाँ अधिकारीहरुले तिब्बतीहरुलाई विभिन्न बाहनामा यातना दिने, नियन्त्रण गर्ने र निगरानीमा राख्ने क्रमलाई तिव्रता दिएको छ । उक्त चिनियाँ ज्यादतीको विरोध गर्दै चीनलाई कालोसूचीमा राख्नसमेत माग गरिएको छ ।