काठमाडौँ- भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आज रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन्। नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो ।
रक्सौलमा अवस्थित र भारतीय खाद्य सुरक्षा एव मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ ।
हाल यी नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको थियो । लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा हाल सो पूरा भएको छ । यस खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने छ।