बारा-२ मा गठबन्धनका साझा उम्मेदवार भए पनि उपेन्द्रलाई चुनाव हार्ने डर

काठमाठौं । वैशाख १० गतेको उपनिर्वाचनका लागि चार दिन मात्रै बाँकी रहँदा दलहरुले आ-आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन्। मंसिर ४ को निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका यादव अहिले बारा-२ मा चुनाव जितेर संघीय संसदमा प्रवेश गर्ने ध्याउन्नमा छन्। चुनावमा यादवलाई विजयी बनाउन सत्तारुढ गठबन्धनमा आवद्ध दलले समर्थन गरिरहेका छन्। तर, ६ महिनाअघि मात्रै सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग १८ हजारभन्दा धेरै मतान्तरले पराजित यादव बारामा पनि चुनाव हार्ने डर उनलाई रहेको छ। यतिबेला उपेन्द्रलाई जिताउन बारा २ मा जसपाका मात्रै होइन, सत्ता गठबन्धनका सबै दलका नेताहरुको चुनावी अभियानमा देखिन्छ।

४ मंसिरको निर्वाचनमा बारा २ मा हालको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको सबै मत उपेन्द्रलाई ‘ट्रान्सफर’ नहुने देखिएका कारण उपेन्द्र त्रस्त बनेका हुन्। अघिल्लो निर्वाचनमा गठबन्धनले पाएको सबै मत उपेन्द्रको पक्षमा पार्न जसपाले गठबन्धनमा आवद्ध दलका शीर्ष नेतादेखि तिनका भातृ संगठनका स्थानीय कमिटीसम्मलाई परिचालन गरिरहेको छ। चुनावमा उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनले यही चैत ७ गते महागढीमाईमा बृहत् आमसभा गर्ने तयारी पनि गरेको छ। यी सबै जोडबल गर्दा पनि मिडियाले गरेको मत सर्वेक्षणमा भने उनलाई हार्ने देखाएको छ। बारा २ मा यतिबेला उपेन्द्रको मुख्य चुनौतीको रुपमा खडा भएका छन्–तीन साताअघि मात्रै माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहा। गएको ४ मंसिरको निर्वाचनमा कुशवाहा जसपाका रामसहाय प्रसाद यादवसँग झिनो मतान्तरले मात्रै पराजित बनेका थिए। त्यतिबेला यादव १३ हजार ८२२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए।

हालका उपराष्ट्रपतिसँग मंसिर ४ मा जम्मा ३५४ मतान्तरले मात्रै पराजित बनेका तिनै कुशवाहा यो उपनिर्वाचनमा उपेन्द्र यादवका सबैभन्दा बलिया प्रतिस्पर्धीको रुपमा खडा भएका छन्। हुन त बारा २ मा एमालेका पुरुषोत्तम पौडेल, रवी लामिछाने नेतृत्वको रास्वपाका रमेश खरेल, प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवाली र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारी पनि उम्मेदवार छन्। राजनीतिक दल र स्वतन्त्र गरी बारा २ मा ३६ जनाले उपनिर्वाचनका लागि उम्मेदवारी दिएका छन्। तीमध्ये स्थानीयमा राम्रो प्रभाव भएका कुशवाहालाई नै स्थानीयले उपेन्द्रको मुख्य प्रतिस्पर्धीको रुपमा हेरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.