बारा । बाराकाे बारागढी गाउँपालिकाले स्थानीय किसानलाई अनुदानमा पम्पसेट वितरण गरेको छ। २७ किसानलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिएको हो।
आकाशे पानीको भरमा खेती गर्न बाध्य किसानलाई विभिन्न खोला, कुलो, नहरबाट पानी तानेर सिँचाई गर्न सहज गराउन पम्पसेट वितरण गराएको गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनुभयाे।
पम्पसेट वितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष जयसवालले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिनुभयाे ।
उहाँले पम्पसेटको रेखदेख तथा मर्मतसम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह समेत गर्नुभयाे । उहाँले भन्रुभयाे, ‘उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्नेतर्फ ध्यान दिनुपर्छ । मेशिनको दुरुपयोग नहोस् ।’
कृषि इकाइ प्रमुख अभिषेक चौधरीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहेको बताउनु भयाे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’
आगामी वर्ष पनि मागअनुसार अनुदानमा पम्पसेट र अन्य कृषि सामग्री उपलब्ध गराइने गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिनुभयाे ।
