प्रधानमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण कसले सोध्यो?

श्री सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ ।
विषय : २४ घण्टे स्पष्टीकरण सोधिएको बारे ।
महोदय,
उपर्युक्त सम्बन्धमा तपाईंं श्री केपी शर्मा ओली २०७४ फागुन महिना ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले तथा माओवादीको गठबन्धनबाट अत्यधिक बहुमतका साथ व्यवस्थापिका संसद्बाट प्रधानमन्त्री भई देश सञ्चालनका लागि त्यस पदमा आसीन हुनुभएको र जनताले समेत धेरै आशा र भरोसा गरेको परिप्रेक्ष्यमा हाल जनताले सोचेको र तपाईंको क्रियाकलापमा कुनै तालमेल नदेखिएको सन्दर्भमा तपाईंले जवाफ दिनुपर्ने संघीय संसद्समेत विघटन गरिएको अवस्थामा छ।

साथै भएका साना तथा ठूला पार्टीहरू सत्ताको खेलमा लागेको, प्रचण्ड भूराजनीतिक दलदलबाट माथि उठ्न नसकेको, देउवा र बाहरूको कुराकानीमा धेरै भिन्नता नदेखिएको, भट्टराईहरूको सपना बिग्रिएको तथा गगनहरूको गनगन पार्टीभित्रै सुनुवाइ नभएको एवं विश्वप्रकाशहरू ‘ऐना’ तिर लागेको अवस्थामा तपाईंलाई सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय एवं अन्य संवैधानिक निकायबाट समेत स्पष्टीकरण नसोधिएको अवस्थामा नेपालको विद्यमान संविधान २०७२ को भाग ३ को १७ अन्तर्गत स्वतन्त्रताको हकअन्तर्गत उपधारा २ तथा धारा २७ सूचनाको हक एवं तत्सम्बन्धी बनेको ऐन तथा कानुन आधारमा यो देशको नागरिकको हैसियतले आम नागरिकहरूको तर्फबाट यो स्पष्टीकरण सोधिएको जानकारी गरिन्छ । अहिले चलनचल्तीमा पार्टीभित्र वा बाहिर स्पष्टीकरणहरू सोध्‍ने क्रम व्यापक भएकाले एउटा स्पष्टीकरण सोध्ने निर्णय म आफैँले गरेको समेत यहाँसामु जानकारी गराउन चाहन्छु :

१. नागरिकले दीगो र स्थायी सरकारको अपेक्षा गरेका थिए । तर यसबीचमा तपाईंले १६ पटक मन्त्रिपरिषद् फेरबदल गर्नुभयो । त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव विकास निर्माण तथा मन्त्रालयको प्रगतिमा देखिएको छ । पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दासमेत काममा प्रभावकारिता देखिएको छैन । यसले के देखाउँछ भने समस्या मन्त्रीहरूमा होइन, प्रधानमन्त्रीमा छ । फोहोर अनुहारमा थियो तर ऐनामा सफा गरिरहे भनेजस्तो कतै तपाईंको काम पनि त्यस्तै त भएन ? आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

२. नेपालको गौरवका योजनाको सूची लामै छ । त्यसमध्ये जनस्तरबाट निर्माण गर्ने भनी बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनी हामी नागरिकले वर्षौंदेखि कर तिरेका छौँ तर तपाईंको सरकारको बजेट भाषण सुन्दा बूढीगण्डकीको कहीँ कतै नाम निशाना आएन । उक्त करबापत लगानी गर्ने भनेको पैसा झापातिर हाल्नुभयो वा नागरिकलाई नै फिर्ता गर्नुहुन्छ ?

३. जर्मनीको राजदूतावास भवन बेच्‍ने भन्‍ने निर्णय गर्नुभयो भन्‍ने समाचार माध्यमबाट सुन्‍नमा आयो । तराईको गिटी बालुवा भारतलाई बेच्‍ने भन्‍नुभएको छ । त्यसै पनि तराई वर्षाद्को समयमा डुबानको समस्यामा गुज्रिरहेको अवस्थामा अझ गिट्टी-बालुवा निकाल्दा डुबान र मरुभूमीकरण हुने पक्का छ, के तपाईंलाई तराईका जनताप्रति माया र सद्‍भाव छैन ?

४. राज्य सञ्चालनमा न्यायालय, व्यवस्थापिका र कार्यपालिका एकआपसमा स्वतन्त्र र एक अर्कामा परिपूरक हुन्छन् । नेपालको संविधानले पनि सोही कुराको परिकल्पना गरेको छ । तपाईंले पहिलोपटक गरेको संसद् विघटनसमेत सर्वोच्च अदालतले असंवैधानिक भनेको परिप्रेक्ष्यमा पुनः संसद् विघटन गरी किन गल्ती गरेको ?

५. तपाईंले सत्ताको बागडोर सम्हाल्दा ऋण रु. ७ खर्बको हाराहारीमा थियो । गत ३ वर्षको अवधिमा करिब १५ खर्बको हाराहारीमा पुगेको छ । लिएको ऋणले के गर्नुभयो ? यो ऋणलाई घटाउने योजना के रहेको छ ?

६. गत ३ वर्षको बजेटलाई विश्लेषण गर्दा झापा जिल्लाको बजेट अरु जिल्लाको तुलनामा धेरै देखिन्छ । नेपाल सरकारको बजेट विनियोजन गर्ने मुख्य ३ आधारहरू जनसंख्या, भूगोल र आवश्यकता हो तर राजनीतिक पहुँच र पदको दुरुपयोग गरी बजेट विनियोजन भएको देखिन्छ । के अरु जिल्लाका जनता झापा घर नभएकै कारण विकासको आयामबाट विमुख हुनुपर्ने हो ?

७. तपाईंले कोरोना भाइरस न्यूनीकरणका लागि प्रभावकारी काम गर्नुभन्दा पनि अम्बा र बेसार पानीजस्ता मनगढन्ते कुरा र उखान टुक्कामा समय बिताउनु भयो, जसका कारण हजारौँ मानिसको अनाहकमा ज्यान गयो, यसको जिम्मेवारी लिनुहुन्छ कि के गर्नुहुन्छ ?

८. तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गर्नुभयो । तपाईंकै निर्देशनमा त्यो नक्सा गायब भयो । पछि संघीय गणतन्त्र नेपाललाई संघीय गणतन्त्र हटाई नेपाल मात्र लेख्‍न पार्टीमा जसरी ह्वीप जारी गर्नुभयो भन्‍ने बाहिर आएको छ, के यसको जवाफ दिन जरुरी लाग्दैन ?

९. भ्रष्टाचार बढिरहेको विभिन्न अन्तर्राष्ट्रिय समुदायले गरेको अध्ययनले देखाएको छ । यसबीचमा तपाईंले यती, ओम्नी, वाइडबडी, ललिता निवास, प्रिन्टिङ प्रेस खरिद लगायतका भ्रष्टचारजन्य कामको छानबिन भएको भन्‍ने खबर आयो । यसको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

१०. तपाईं प्रधानमन्त्री भएदेखि पटक-पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो ६ महिनाको अवधिमा मात्र प्रतिलिटर पेट्रोलमा रु १९ रूपैयाँ बढेको छ । सरकारको भनेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा यसरी नै पूरा होला त ?

माथि उल्लिखित बुँदाहरू कुनै राजनीतिक पूर्वाग्रहले लेखिएको होइन । राजनीतिक पूर्वाग्रह नझल्कियोस् भनेर मैले नेकपा एमालेको संस्थापन पक्षको एक कार्यकर्ता साथीलाई समेत सोधी तथ्यमा आधारित भएर बनाएको प्रमाणित म आफैँ घोषणा गर्न चाहन्छु । यो स्पष्टीकरण दिनुको सट्टा अरिंगाल र साइबर सेना लगाई दुःख दिने काम नगर्नसमेत सम्माननीयसामु अनुरोध गर्दछु । साथै माथि उल्लिखित प्रश्नहरूको जवाफ तपाईंलाई सहज हुने माध्यमबाट जनतालाई दिनुहुन अनुरोध गर्दछु ।

उही तपाईंको जनता
हरि देवकोटा
(देवकोटा ग्रामीण विकासमा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन् ।) साभार: इकागज