प्रचण्ड परिवारसहित पुगे सिन्धुली

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुड फ्रेस’ का लागि सिन्धुली आइपुगेका छन्। पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवारसहित सिन्धुली आइपुगेका हुन्।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार जिल्लामा कुनै औपाचारिक कार्यक्रम नभए पनि प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएका हुन्।

‘सिन्धुलीमा कुनै त्यस्तो औपाचारीक कार्यक्रम त छैन। अध्यक्ष कमरेड मुड फ्रेस हुन, रि–फ्रेसका लागि सिन्धुली आउनु भएको हो,’ उनले भने।

अध्यक्ष प्रचण्डका साथमा प्रचण्ड पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरा लगायत छन्। यस अघि राजनीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटका रिसोर्टमा रि–फ्रेस हुन पुग्ने प्रचण्ड यस पटक सिन्धुलीमा पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको निजी निवासमा बस्ने कार्यक्रम तय भएको छ।

फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज भएपछि प्रचण्ड नेपाली राजनीतिक घटना क्रममा थप तनावमा छन्। प्रधानमन्त्री ओलीलाई हटाउन र नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग तिव्ररुपमा छलफलमा जुटेका प्रचण्ड मंगलबार राष्ट्रपतिको आह्वानमा शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा पुगेका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई प्रतिगमन देशव्यापी विरोध कार्यक्रम भएका थिए। सोहीक्रममा प्रचण्ड फागुन १ गते सिन्धुलीको मरिणमा एक कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका थिए।

बिहीबार बिहान भने प्रचण्डले सिन्धुलीमाढीमा आफ्ना नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम बनाइएको माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए।उनले भने, ‘यो औपाचारिक कार्यक्रम भने होइन। तर, भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे अध्यक्ष प्रचण्डले जिल्लास्थित पार्टी कार्यकर्तासंग अनौपचारीक भेटघाट गर्ने कार्यक्रम भने तए भएको छ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.