प्रचण्डले भनेे -राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन् ।

नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले भने, ‘हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं । अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।’

त्यसकारण सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।’

पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको दाहालले बताए । अहिले युद्धको परिस्थिति नरहेको र शान्तिपूर्ण ढंगले अभियान चलाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको दाहालको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उनले बताए । उनले भने, ‘मैले केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने देखेपछि म अब फेरि जेल जान पनि तयार मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.