काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरेको छ ।
विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पु-याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ ।
अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।
आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ ।
प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । यसको अर्थ हो कर छली गरेको ठूलो रकम विदेशमा लुकाउने, अवैध तरिकाले कमाएको रकम विदेश पु-याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ र त्यसलाई अधिकार सम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष÷परोक्ष संरक्षण छ । नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ । त्यसैले नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो ।
प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए । कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो ।
प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज केलाइएको थियो । यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् ।
यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ । आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।
नेपालमा खोज
नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँचवटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।
कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो।
अफशोर संसारले गरीबी बढाउँछ
–जेरार्ड रायल, निर्देशक आईसीआईजे
हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं । यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो । आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ । स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो ।
आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन् । यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ । यो छायाँ संसारबारे हामी सचेत छैनौं, जहाँ कपट र धोका छ । यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ ।
यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं । त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ । यसमा जोर्डनका राजाको नाम जोडिएको छ ।
हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो । तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन् ।
यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन् । पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन् । र, उनीहरूले आफ्नो अपराध लुकाउन अफशोर गोपनीयताको उपयोग गरिरहेका छन् ।
यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं । त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ । यसमा जोर्डनका राजाको नाम जोडिएको छ ।
उनीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् । उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरीद गरेका छन् । यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ ।
यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ । तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन् त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन । अब विश्वभरबाट जनताले यस्तो छायाँ व्यवस्थाको अन्त्यका लागि दबाब दिनै पर्छ ।
आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन ।
सिंगापुरमा एउटा एशियासिटी नाम गरेको कम्पनी छ । यो विश्वकै ठूलो मध्येको अफशोर सेवा प्रदायक कम्पनी हो । अष्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला ब्यांक, अकाउन्टेन्सी फर्महरू छन् । त्यस्तै उनीहरूका ग्राहकमा विभिन्न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन् । एशियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफशोर कम्पनी खोलिदिन्छ । यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ । यी दुई विश्वकै सबैभन्दा गोप्य अफशोर क्षेत्राधिकार भएका देशमध्येका हुन् ।
शेल कम्पनी (सामान्यतः कागजमा सिमित यस्ता कम्पनीको वास्तविक पहिचान, पूँजी र कर्मचारी हुँदैनन् । यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ ।) हरू अपराधको अफशोर संसारमा छिराउने अनिवार्य वाहक हुन् । हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो । एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ ।
मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त ग-यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउन्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिँड्नुपर्नेछ । समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ । सीमा पारि प्रहरी जान सक्दैन । यो नै अफशोर संसारका अपराधीहरूका लागि शक्ति हो । उनीहरूले अफशोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन ।
राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन ।
(अस्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक जेरार्ड रायलसँग गरेको कुराकानीको सम्पादित अंश) खोज पत्रकारिता केन्द्र