पाकिस्तानमा सन् २०२० मा मात्रै दुई हजार ९६० बालबालिकामाथि यौन दुर्व्यवहार

लाहोर । पाकिस्तानमा सन् २०२० मा मात्रै करिब दुई हजार ९६० बालबालिकालाई यौन दुर्व्यवहार गरिएको तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानमा बाल यौन शोषणको बारेमा चेतना जगाउने काम गर्ने गैरसरकारी संस्था साहिलले सोमबार लाहोर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । यसमध्ये दुई हजार ५८७ घटनाहरु प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

मिडियासँग सार्वजनिक गरिएको यो डरलाग्दो तथ्यांक अनुसार एक हजार ५१० बालिका र एक हजार ४५० बालकहरुमाथि यौन शोषण गरिएको पाइएको हो । यो तथ्यांक हेर्दा हरेक दिन आठ बालबालिका यौन दुर्व्यवहारको सिकार हुने गरेको पाइएको छ । सार्वजनिक भएको तथ्यांक अनुसार अपहरणमा ६७३, ३०५ जना बलात्कार, अप्राकृति मैथुन ४५९ जना, सामूहिक बलात्कार ९८, सामूहिक अप्राकृतिक मैथुन १८९ तथा ३७ बालक र २७ बालिकाको हत्यासमेत गरिएको छ । अझै डरलाग्दो तथ्यांक त के छ भने सात बालक र तीन बालिकलाई सामूहिक अप्राकृतिक मैथुन र बलात्कारपछि हत्या गरिएको पाइएको छ ।

प्रतिवेदनका अनुसार ३४५ जना बालबालिका अझै बेपत्ता छन् । ११९ को बाल विवाह गराइएको छ । यस तथ्यांक अनुुार १५७९ बालबालिकालाई घरपरिवार आफन्तबाट यस्तो यौन शोषण हुने गरेको पाइएको छ भने २८९ जनालाई नचिनेको मान्छेले दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

जहाँसम्म बच्चाहरूको उमेरको कुरा छ, ११े देखि १५ वर्षका एक हजार २० बालबालिकाले अपमानको सामना गरेका छन् भने त्यसपछि ६ देखि १० वर्षका बालबालिका छन् । प्रान्तको हिसाब गर्ने हो भने सबैभन्दा बढी एक हजार ७०७ बाबालिका पञ्जाब प्रान्तमा छन् भने सिन्धमा ८६१, खैबरपख्तुनख्वामा २१५, बलुचिस्तानमा ५३, संघीय राजधानी इस्लामावादमा १०२, पाकिस्तान प्रशासित जम्मु काश्मीरमा १८ र गिलगित बाल्टिस्तानमा ४ जनामाथि यौन शोषण भएको छ ।