एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तको हैदरावादमा होलीको मनाइरहेकाे बेला एक छाला विशेषज्ञ डाक्टरको चक्कु प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको छ। प्रख्यात डाक्टरको निर्ममतापूर्वक हत्या भएपछि सिन्ध प्रान्तका अल्पसंख्यक हिन्दूहरूमा त्रास फैलिएको छ।
यहाँ प्रायः हिन्दुहरुको हत्या, हिन्दु किशाेरीहरुको धर्म परिवर्तन र जबरजस्ती विवाह गर्ने घटनाहरु बाहिर आइरहेका छन् । पाकिस्तानी अखबार द नेशनको रिपोर्ट अनुसार डा. धर्मदेव राठीको मंगलबार राति घर फर्किने क्रममा आफ्नै चालकले हत्या गरेका हुन् । एसएसपी अमजद अहमद शेखले चालकले चक्कुले घाँटी रेटी डा. राठीको हत्या गरेकाे बताए ।
राज्य सरकारका अल्पसंख्यक कल्याण मन्त्री डा. ज्ञानचन्द इसरानीले यस विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएकाे बताए । हाल हत्यारा चालक हनिफ लेघारी प्रहरीकाे नियन्त्रणमा रहेका छन् । केही सञ्चारमाध्यमले होली खेलेकोमा उनको ड्राइभरले डाक्टरसँग रिसाएको र उनको हत्या गरेको दाबी गरेका छन् ।
यद्यपि प्रशासनले यसको पुष्टि गरेको छैन । बाटोमा चालक हनिफ लेघारीसँग डाक्टरको झगडा भएको एसएसपी अहमद शेखले बताए । जसका कारण आक्रोशित चालकले उनको निर्ममतापूर्वक हत्या गरेका थिए ।
हत्यापछि चालक घटनास्थलबाट फरार भएकाे थियाे। घटनाको जानकारी पाएलगत्तै प्रहरीले उक्त क्षेत्र नाकाबन्दी गरी कारसहित चालकलाई पक्राउ गरेको थियो । धर्मदेव राठी एक प्रसिद्ध छाला विशेषज्ञ थिए र उनको परिवार अमेरिकामा बस्छ।
उनले भर्खरै सरकारी सेवाबाट अवकाश पाएका थिए र त्यसपछि उनी आफैं अमेरिका जान लागेका थिए । उनी सिन्ध प्रान्तको हैदरावादको खैरपुर मीर कोलोनीमा बस्थे। पाकिस्तानको ९० प्रतिशत हिन्दू जनसंख्या सिन्ध प्रान्तमा नै बसोबास गर्छ, जसको संख्या अहिले करिब १० लाख मात्रै छ।
पाकिस्तानमा हिन्दु समुदाय होली पर्व मनाउन व्यस्त रहेका बेला यो विभत्स हत्या भएको हो । यो घटनाले हिन्दु समुदायमा फेरि एकपटक त्रास फैलिएको छ । यसअघि पनि डाक्टरहरु निशानामा परेका छन् ।
तीन वर्षअघि कराँचीमा एक हिन्दू मेडिकल विद्यार्थीको हत्या भएको थियो । विद्यार्थीको नाम नम्रता चाँदनी थियो । नम्रता लरकानाको बीबी आसिफा डेन्टल कलेजकी डाक्टर र प्रोफेसर थिइन् । नम्रताको शव उनको होस्टेलको कोठाको खाटमा फेला परेको थियो । उनको घाँटीमा डोरी बाँधिएको थियो।