नेपाली युवती बन्दैछन् ‘रिभेन्ज पोर्न’ को शिकार

इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्रह गर्दै सन्देश पठाइन् । परिचित मोडल र रात्रि क्लब संचालक ती युवतीको समस्या प्रहरीका लागि पनि नयाँ थियो।

उनले सामाजिक सञ्जालमा राखेको आफ्नो तस्वीर र भिडियोको अनधिकृत प्रयोग भएको, तस्वीरहरू तोडमोड गरेर सामाजिक सञ्जालका विभिन्न ग्रुप र पेजमा राखिएको, अश्लील शब्द लेखेर सामाजिक अवहेलना गरेको लगायत गुनासो गरेकी थिइन्।

डेस्कको आग्रह बमोजिम उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा निवेदन दिइन् । उनी जस्तै विदेशमा बसोबास गरिरहेकी अर्की युवतीले पनि यस्तै समस्या प्रहरीलाई लेखेकी थिइन्।

केन्द्रीय साइबर ब्यूरोले अहिले यी दुई घटनामा अनुसन्धान गर्दै यस्तो कार्यमा संलग्न पीडकहरूको खोजी गरिरहेको छ । ब्यूरोका प्रमुख, एसएसपी नविन्द अर्याल भन्छन्, “कसैको तस्वीर सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई अन्यत्र प्रयोग गर्नु अपराध हो, यस्तो गलत कार्यमा संलग्नहरूबारे गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौं।”

शारीरिक छेडखानी, मानसिक प्रताडना

प्रहरीका अनुसार, साइबर ब्यूरोमा इन्स्टाग्राम र मेसेजिङ एप टेलिग्राममा खोलिएका दर्जनौं गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर राखेर अनर्गल प्रचार र अश्लील रूपमा चर्चा हुने गरेको उजुरी आउने गरेको छ।

पछिल्लो समय ब्यूरोले वेब सामग्रीको रेटिङ र चर्चा गरिने साइट रेडइटमा नेपाली युवाहरूले खोलेको ‘हिमालय बेब्स’ ग्रुप बन्द गराएको थियो । यो ग्रुप बन्द भएपछि इन्स्टाग्राम र टेलिग्राममा यही प्रकृतिका थुप्रै ग्रुप बनाइएका छन्।

प्रहरीका अनुसार, इन्स्टाग्राममा काण्ड हब, बबाल इन्क, कबाडी मिम र लस्टीक्लिक ग्रुपबाट नेपाली युवतीहरू पीडित भइरहेका छन् । यी ग्रुपहरूमा नाम चलेका मोडल, कलाकार र सामाजिक सञ्जालमा सक्रिय युवतीहरूका तस्वीर निकालेर राखिन्छ । तस्वीरसँगै ‘समाजमा बिग्रेकी महिला’ का रूपमा परिचय राखेर युवाहरूबीच आपसमा चर्चा हुने गरेको छ । यसबाट चरित्रहत्या गर्दै मानसिक प्रताडना दिइने गरिएको छ।

ब्यूरोका प्रमुख, एसएसपी अर्याल भन्छन्, “विभिन्न ग्रुप मार्फत आफ्नो तस्वीरको दुरुपयोग भएको भन्ने उजुरी केही महिलाहरुबाट आएको छ, पीडितको सहयोगमा अनुसन्धान गरिरहेका छौं।”

‘रिभेन्ज पोर्न’ को आशंका

हाल इन्स्टाग्राममा सक्रिय चार वटा ग्रुप र टेलिग्रामको च्यानलको प्रारम्भिक अनुसन्धानमा ती ग्रुप कसैसँग बदलाको भावना राखेर खोलेको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । ती ग्रुप र च्यानलमा केही त पूर्व प्रेमिकासँग बदला भावले तस्वीरहरू राखेर जथाभावी लेखेको पाइएको छ।

कसैको निजी कुरा, यौन सामग्री, फोटो वा भिडियो सम्बन्धित व्यक्तिको सहमति विना चरित्रहत्या गर्ने वा पीडा दिने उद्देश्यले इन्टरनेटमा राख्ने वा शेयर गर्ने कार्यलाई ‘रिभेन्ज पोर्न’ को नाम दिइएको छ।

‘रिभेन्ज पोर्न’ पछिल्लो समय भारतमा मौलाएको साइबर अपराध हो । आफूले मन पराएकी युवतीले प्रस्ताव अस्वीकार गरे वा प्रेम सम्बन्ध बिग्रिएपछि गोप्य रूपमा खोलिएका ग्रुपहरूमा तस्वीर राखेर अश्लील चर्चा गर्ने प्रवृत्ति देखिएको छ । यस्तै, युवतीका तस्वीरहरू तोडमोड गरेर नग्न बनाएर पनि राखेको पाइएको छ।

इन्स्टाग्रामको गोप्य ग्रुप ‘ब्वाइज लकर रुम’ मा अश्लील च्याट गर्ने र बलात्कारलाई बढावा दिने गरी सन्देश पठाएको पाइएपछि गएको २३ वैशाखमा भारतको नयाँदिल्लीमा एक १५ वर्षीय किशोर पक्राउ परेका थिए । त्यो प्रकरणसँगै ‘रिभेन्ज पोर्न’ एशिया भित्रिएको पुष्टि भएको थियो।

‘रिभेन्ज पोर्न’ पछिल्लो समय भारतमा मौलाएको साइबर अपराध हो । आफूले मन पराएकी युवतीले प्रस्ताव अस्वीकार गरे वा प्रेम सम्बन्ध बिग्रिएपछि गोप्य रूपमा खोलिएका ग्रुपहरूमा तस्वीर राखेर अश्लील चर्चा गर्ने प्रवृत्ति देखिएको छ । यस्तै, युवतीका तस्वीरहरू तोडमोड गरेर नग्न बनाएर पनि राखेको पाइएको छ।

नेपालको घटनामा समेत युवतीहरूको तस्वीर राखेर शरीरबारे चर्चा गर्ने र विभिन्न आक्षेप लगाएर चरित्रहत्या गर्ने गरिएको छ। अर्कातिर, युवतीले छोटा कपडा लगाएका तस्वीर पोस्ट गर्ने र कतिपय तस्वीर फोटोसपबाट नग्न बनाएर पनि राखिएको छ । आफ्नो सुन्दरता र शरीर आफ्नो इच्छा अनुसार देखाउन पाउने अधिकारको उपयोग गर्ने युवतीहरू नै आपराधिक समूहको निशानामा परिरहेका छन्।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, “कस्ता तस्वीर सामाजिक सञ्जालमा राख्ने भन्ने अर्को विषय होला, यस्ता ग्रुपहरूले धेरै युवतीलाई मानसिक यातना दिइरहेका छन्।” पहिले सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा बदला भावले फोटो वा भिडियो पोस्ट गर्ने गरिएकोमा पछिल्लो समय गोप्य ग्रुपमा ‘रिभेन्ज पोर्न’को प्रवृत्ति बढेको हुन सक्ने उनको भनाइ छ।

ती अधिकारीका अनुसार, यस्ता ग्रुपहरू धेरैजसो विदेशबाट खोलिएको छ । ती ग्रुप कसले खोलेको भन्नेबारे त्यसका सदस्यहरूलाई समेत थाहा हुँदैन । “यो अपराध हो भन्ने थाहा नहुने युवाहरू समेत यसका भागीदार बनिरहेका छन्”, उनी भन्छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.