नेपालमा रहेका अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया

काठमाडौँ । नेपालमा रहेका अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया गरिएको छ । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग एक भर्चुअल कार्यक्रमको आयोजना गरी अन्तरक्रिया गरेको हो।

अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुलाई दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरिन् ।

उनले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरिन्। यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै उनले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव समेत दिइन् ।

त्यस्तै कार्यक्रममा नेपालमा व्यवसाय क्षेत्रमा सहभागीता जनाउन नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले भारतीय कम्पनीहरुलाई आग्रह गर्नुका साथै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी गराएका थिए ।

उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ समेत दिएका थिए। उनले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई प्रोत्साहित पनि गरेका थिए ।

त्यसैगरी कार्यक्रममा गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारत भित्र तथा बाहिर प्रमुख परियोजनाहरुको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको बारे चर्चा गरिएको थियो ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको दूतावासले जनाएको छ । उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।