काठमाडाैँ – नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्।
भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई नेपालका लागि नयाँ भारतीय राजदूतमा राजदूत नियुक्त गरेको औपचारिक घोषणा गरेको हो।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएकाे हाे । उनको नाम नेपालबाट स्वीकृत भएसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउन लागेका हुन् ।
भारतीय विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्। सन् २०२० मा भारत–चीन सीमा क्षेत्रको लाइन अफ एक्च्युल कन्ट्रोल (एलओसी)मा दुई देशका सैनिकबीच विवादको अवस्था सिर्जना हुँदा चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन्।