निजी शिक्षण संस्थाको एउटै स्वर : सरकारको दुईदिने बिदा कार्यान्वयन गर्न सकिँदैन

काठमाडौं । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नभएको भन्दै निजी विद्यालयका तीन संस्थाले दुई दिन बिदा लागु नगर्ने जनाएका छन् । तर, शिक्षक महासंघले भने सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले अव्यावहारिक बिदा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । प्याब्सन र राष्ट्रिय प्याब्सन (एन प्याब्सन) ले सरकारको निर्णय कार्यान्वयन गर्न मुस्किल हुने जनाएको छ । प्याब्सनका अध्यक्ष

डिके ढुंगानाले अव्यावहारिक विषयमा छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिए । उनले भने– ‘अधिकांश विद्यालयका विद्यार्थी हिँडेरै विद्यालय पुग्ने गरेका छन् । शहरका केही विद्यालयमा मात्र सवारी साधनको व्यवस्था देखिएको छ । त्यसैले इन्धन खपतकै कारण देखाएर दुई दिन बिदा दिन हुँदैन ।’

उनले दुई दिन बिदा दिँदा पठनपाठन, परीक्षालगायत सबै विषयमा समस्या पर्ने बताए । एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले पाठ्यभारको विषयमा निर्णय नगरी दुई दिन बिदा दिने निर्णय गर्नु उचित नभएको धारणा राख्दै भने– ‘सरकारले यस्तो निर्णय गर्दा छलफल गरेर मात्र गर्नुपर्छ । हचुवाको भरमा सरकारी कार्यालयजस्तो शिक्षण संस्थाको मूल्याङ्कन गर्नु उचित हुँदैन ।’ नेपाल समाचारपत्रबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.