काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् ।
सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।
सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहरूलाई सोहीअनुसार वातावरण बनाउन भनिसकेका छन्।
शनिबारको छलफलमा पुगेका उपसभापति निधिले भने देउवालाई ‘तपाईं आराम गर्नुस्, मलाई सघाउनुस्, म तपाईंकै समर्थनमा सभापति लड्छु,’ भन्दै मुख खोलेका छन् ।
त्यति मात्रै होइन सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग देउवाले बूढानीलकण्ठमा आफूनिकट नेताहरूसँग महाधिवेशन तयारीबारे छलफल गर्दै गर्दा निधिले कांग्रेसको संस्थापक नेताहरू बीपी कोइराला पुत्र डा. शशांक कोइराला र गणेशमान सिंह पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमा बोलाएर ‘लन्च मिटिङ’ नै गरे । निधि भने कांग्रेसका संस्थापक मध्येकै एक नेता महेन्द्र नारायण निधिका पुत्र हुन् ।
निधिले सोमबार आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर समसामयिक राजनीतिक अवस्था र पार्टीको महाधिवेशनबारे ‘लन्च मिटिङ’ गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
‘उहाँहरूबीच लन्चसहितको मिटिङ भयो, उपसभापतिज्यूले पूर्वमहामन्त्री र वर्तमान महामन्त्रीज्यूहरूलाई बोलाएर समग्र विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुभयो, महाधिवेशनको विषयदेखि आगामी निर्वाचनसम्मका विषयमा छलफल भएको छ,’ उपसभापति निधिका प्रेस सल्लाहकार दाहालले राजधानीसँग भने ।
तीन नेताहरूबीच कोभिड संक्रमण, सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षति, कांग्रेसको १४औं महाधिवेशन, आगामी प्रतिनिधिसभा निर्वाचन र विपक्षीदलको गठबन्धनबाट प्रधानमन्त्रीका लागि उम्मेदवार बनाइएका सभापति देउवालाई प्रधानमन्त्री बनाउनेलगायतका विषयमा कुराकानी भएको दाहालले .जानकारी दिए ।
यसअघि तीन नेताबीच गत ३ र ४ असारमा सम्पन्न केन्द्रीय समिति बैठकपछिसमेत पार्टी केन्द्रीय कार्यालयमा नै छलफल भएको थियो ।
सोमबारको छलफलपछि भने तीन नेताहरूबीच समान धारणा बनाएर अघि बढ्ने विषयमा सहमति बनेको छ । निधिले आगामी महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व छान्नेगरी धारणा बनाउने विषयमा नेताहरूलाई एक ठाउँ राख्न खोजेका बताइन्छ ।
यसैगरी, आफ्ना धारणा जिल्ला सभापतिहरू तथा केन्द्रीय सदस्यबीच लैजाने विषयमा पनि तीन नेताहरूबीच सहमति भएको दाहालले जनाएका छन् ।
यसअघि २ असारमा नेता निधिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै धुम्बाराहीस्थित निवासमा पुगेर भेटेका थिए भने गत शनिबार नेता बलबहादुर केसीलाईसमेत उनकै निवास पुगेर भेटेका थिए । निधि आगामी महाधिवेशनमा आफैं पार्टी नेतृत्वका लागि अघि बढ्नेगरी छलफल र भेटघाटलाई अघि बढाएका हुन् ।
तीन नेताहरूले अब वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री सिटौलासहित पार्टीको नेतृत्वका आकांक्षी रहेका नेताहरूसँग छलफल गर्ने सहमतिसमेत गरेका छन् । राजधानी दैनिकबाट