ज्याक माको कम्पनीलाई चीन सरकारले तिरायाे एक अर्ब डलर जरिवाना

काठमाडौँ । चीनको चिनियाँ अर्बपति व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना तिराउने भएका छन् ।

सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका रूपमा लिइएको यो कदमसँगै लगभग तीन वर्ष चलेको सो कम्पनीको पुनरूत्थान प्रक्रिया सकिएको बताइएको छ ।

हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपे गायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । लगभग १७ हजार जना प्रत्यक्ष रूपमा कार्यरत यो कम्पनी सन् २०२० यता विभिन्नखाले समस्यामा पर्दै आएको छ । यसका प्रमुख लगानीकर्तामध्ये एक ज्याक माले चिनियाँ सरकारले नियमन थालेयता सक्रियता घटाउँदै चीनबाहिर नै बढी समय बिताउन थालेका छन् ।

नियमन प्रक्रियाकै क्रममा चीन सरकारले सन् २०२० को मध्यतिर सो कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला ३०० अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको छ ।

चीन सरकारले एन्ट ग्रुपलाई लगाएको यो पहिलो जरिवाना होइन । यसअघि चीन सरकारले एन्ट ग्रुपकै एक कम्पनी अलिबाबा होल्डिङ्सलाई झन्डै ३ अर्ब डलरको जरिवानासमेत लगाइसकेको छ । यस्तै अन्य प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि पनि यसअघि नै जरिवानाको घोषणा गरिएको छ । सो क्रममा चीनको चर्चित फुड डेलिभरी कम्पनी मिटुआनले झन्डै साढे पाँच सय मिलियन अमेरिकी डलर र राइड कम्पनी दिदी ग्लोबलले एक अर्ब अमेरिकी डलरभन्दा बढी जरिवाना बुझाइसकेका छन् ।

एन्टले तिरेको जरिवाना चीनको इतिहासमै कुनै पनि ईकमर्स कम्पनीलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.