चिनियाँ नागरिकको मुद्दती खातामा रहेको १ करोडको स्रोत खुलेन, सम्पत्ति शुद्धिकरणमा अर्को मुद्दा

काठमाडौं। चिनियाँ नागरिक फेग चांगवेन लगभग एक वर्षदेखि नख्खु कारागारमा छन्। जिल्ला अदालत काठमाडौंले विदेशी विनिमय अपचलन गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई कारागार राखिएको हो

२०८० जेठ २१ गते प्रहरीले उनलाई विदेशी मुद्रा सहित पक्राउ गरेको थियो। त्यसैको आधारमा २०८० पुस २० गते अनुसन्धानपछि अदालतले उनलाई दोषी ठहर गरेको थियो।

नेपालमा उनको नाममा खोलिएको बैंक खातामा अस्वाभाविक रकम देखिएपछि त्यसबेला सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान थालेको थियो। करिब एक वर्षको अनुसन्धानपछि विभागले फेगलाई अनुसन्धानको दायरमा ल्याउँदै मुद्दा चलाउन सिफारिस गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीविरुद्ध मुद्दा समेत दायर गरेको छ। उनको बैंक खातामा रहेको १ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो।

मुद्दती खातामा लाखौं रुपैयाँ जम्मा
चिनियाँ नागरिक फेंगले नेपालमा भिजिट भिसामा आएर सिटिजन बैंकमा खाता खोलेका थिए। मुद्दती खातामा गत साउन ९ गतेसम्म रकम १ करोडभन्दा बढी रकम मौज्दात रहेको प्रहरीले जनाएको छ। खातामा पटक पटक गरेर १ करोड ११ लाख २१ हजार ९१३ रुपैयाँ जम्मा गरेको देखिएको छ।

सिटिजन्स बैंकमै रहेकफ अर्को खातामा भएको कारोबार अनुसार सन् २०१९ डिसेम्बर १६ मा ६ हजार ४०० अमेरिकी डलर, सन् २०२० जनवरी ५ मा ३ हजार अमेरिकी डलर सटही गरेको देखिएको छ।

साथै सन् २०२० मार्च १ मा जम्मा भएको रकम २१ लाख ९० हजार सटही समेत उल्लेख गरेको तथा अन्य नगद रकमको स्रोतमा व्यवसाय उल्लेख गरेको देखिन्छ। तर, उनी नेपालमा प्रवेश गर्दा कुनै वैधानिक रकम लिई प्रवेश गरेको देखिँदैन। साथै उनले नेपालमा कुनै व्यापार व्यवसाय गरि बसेको समेत खुलेको छैन।

उनले अधिकांश कारोबारहरू नयाँ बजार शाखाबाट गरेको देखिन्छ भने यसरी जम्मा भएको अधिकांश रकमबाट ३ देखि ९ महिनाको अवधिमा मुद्दती खाता खोलेको पाइएको छ।

उनी नेपालमा पर्यटक भिसामा रहेको र निरन्तर भिसा नवीकरण गर्दै आएको देखिन्छ छ। फेंगले वर्किङ भिसा लिएको भने देखिँदैन। उनले बैंकमा रकम जम्मा गर्दा स्रोत भने रेमिटेन्स, होटेल बिजनेस, विडिङ बिजनेस नेपालमा भनेर खुलाएका छन्। तर अनुसन्धानको क्रममा उनले दाबी गरेको स्रोत भने देखिएको छैन।

उनी पहिलो पटक नेपाल सन् २०१९ डिसेम्बरमा आएका थिए। त्यतिखेर उनले भिजिट भिसामा तीन महिना नेपाल बस्ने अनुमति लिएको देखिन्छ। त्यसउता उनले पटक पटक भिसा नवीकरण गरेका छन्।