चिनियाँ जासुसी विमानले हवाई क्षेत्र उल्लंघन गरेकाे जापानको आरोप

टाेकियाे । जापानले चिनियाँ जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । जापानका अनुसार स्थानीय समयअनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि ‘वाई–९’ जासुसी विमानले डान्जो टापुको ‘हवाई क्षेत्रको उल्लंघन’ गरेको जनाएको हो ।

चीनले हवाई क्षेत्र उल्लंघन गरेको जापानको यो पहिलो आरोप हो । जापानका प्रमुख क्याबिनेट सचिवले चिनियाँ कदम ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उनले त्यसबारे टोकियोस्थित चिनियाँ दूतावासका एक अधिकारीसँग सोधपुछ गरेका बीबीसीले जनाएको छ । चीनले उक्त क्षेत्रमा प्रभाव जमाउन जापानलगायत अमेरिका र उसका साझेदारहरूविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जापानी प्रसारण संस्था एनएचकेका अनुसार जापानी अधिकारीले सोमबारको अतिक्रमणविरुद्ध चिनियाँ विमानलाई चेतावनी जारी गरेका छन् ।

जापान सरकारले कुटनीतिक माध्यमबाट बेइजिङलाई उक्त अतिक्रमणको कडा विरोध गर्न र भविष्यमा त्यस्ता उल्लंघनहरू रोक्न माग गर्न सम्पर्क गरेको जनाएको छ । तर त्यसबारे बेइजिङले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । टोकियोले हालै साउथ चाइन समुद्रको सेन्काकु टापुहरूमा चिनियाँ जहाजहरूको उपस्थितिलाई चेतावनी दिएको थियो । उक्त टापुलाई चीनले आफ्नो दाबी गर्दै आएको छ । तेल र ग्यास भण्डार भएको ठानिएका ती टापु पछिल्लो समय बेइजिङ र यसका छिमेकीहरूबीचको तनावको मुख्य कारण हो ।

जापानको ओकिनावा टापु पनि तनावको अर्को कारण हो । ओकिनावा एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडा हो । त्यस्तै, ताइवान, फिलिपिन्स र दक्षिण कोरियामा पनि अमेरिकी सेना तैनाथ छन् । सिंगापुरको नेशनल युनिभर्सिटीका चिनियाँ विदेश नीति विज्ञ प्राध्यापक इयान चोङ्गले बीबीसीसँग भनेका छन्, ‘यसअघि चीनले जापानी हवाई क्षेत्रमा सीधै प्रवेश नगरेको भएकाले पछिल्लो घटना केही चेतावनीमूलक देखिन्छ ।’ पछिल्ला वर्षहरूमा ताइवान र फिलिपिन्सको सन्दर्भमा भने चीनको यस्तो व्यवहार सामान्य हो ।

चीन र ताइवानबीचको अनौपचारिक सीमा ‘ताइवान स्ट्रेट’मा गत महिना एकै दिनमा चिनिया सैन्य विमानहरूले ताइवानी हवाई क्षेत्रमा ६६ पटक उडान गरेका थिए । त्यस्तै, फिलिपिन्सले पनि हालै दक्षिण पूर्व एसियाको शान्तिका लागि सबैभन्दा ठूलो बाधक चीन भएको बताएको थियो । आइतबार साउथ चाइन समुद्रको विवादित भागमा झडप भएपछि फिलिपिन्सले त्यस्तो टिप्पणी गरेको थियो । ‘हामीले चीनबाट यस्तो व्यवहारको अपेक्षा गर्नु सामान्य हो, किनभने यो संघर्ष हो,’ फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टियोडोरोले भने, ‘हामीले बारम्बार भनेझैं चीनका यस्ता कार्यहरूको पूर्वानुमान गर्न र अभ्यस्त हुन तयार हुनुपर्छ ।’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान चीनका विदेशमन्त्री वाङ यीसँगको वार्ताका लागि यस साता बेइजिङमा छन् । दुई पक्षले साउथ चाइना समुद्रको तनाव, मतभेद र त्यसका कारणहरूबारे छलफल गर्नेछन् । ‘अमेरिकाले सम्भवतः अनियन्त्रित तनावबाट बच्ने उपायहरू खोजिरहेको छ । यद्यपि यो प्रस्ताव व्यवहारमा ल्याउन गाह्रो देखिन्छ,’ प्राध्यापक चोङले भनेका छन् ।