चिनियाँ कम्पनी हुवावेको नाफामा उच्च गिरावट

एजेन्सी । चिनियाँ टेक जायन्ट हुवावेको नाफामा उच्च गिरावट आएको छ। अन्तर्राष्टिय समाचार माध्यमका अनुसार हुवावेको नाफामा गएको दशककै उच्च गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा कम्पनीको नाफा ६९ प्रतिशतले घटेको छ। यो सन् २०११ पछिको उच्च गिरावट रहेकाे विवरणमा उल्लेख छ ।

अमेरिकी प्रतिबन्धको मारमा परेपछि हुवावेको नाफा निरन्तर घट्दै गइरहेकाे छ । कम्पनीले सन् २०२२ मा ३५.६ अर्ब युआन नाफा गरेको छ यो सन् २०२१ को तुलनामा ६९ प्रतिशतले न्यून हो।

अमेरिकी प्रतिबन्धको असर तथा पछिल्लो समय उत्पादन लागत बढेका कारणले नाफा घटेको कम्पनीले जनाएकाे समाचारमा उल्लेख छ ।

सन् २०१९ मा अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धसँगै हुवावेले गुगलको एन्ड्रोइड प्रणालीमाथिको पहुँच गुमाएको थियो।

योसँगै स्मार्टफोनको ब्यापार स्वाट्टै घटेको थियो। यद्यपि पछिल्लो समय हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। तर यो सिस्टम चीन बाहिर खासै प्रभावकारी हुन सकेको छैन।

स्मार्टफोनको व्यापार लयमा नआएको सँगै पछिल्लो समय दूरसञ्चार उपकरणको व्यापारमा पनि हुवावेलाई धक्का लागेकाे छ। फाइभजीमा हुवावेको प्रविधि प्रयोग नगर्न अमेरिकाले पैरवी गरिरहेको छ।

यो पैरवीसँगै सयुक्त अधिराज्य बेलायतले हटाउने निर्णय गरिसकेको छ भने जर्मनीले पनि सीमित प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेको छ। योसँगै उपकरण ब्यापार पनि सुधार हुन सकेको छैन।

सन् २०१९ देखि हुवावेलाई इन्टिटी लिस्टमा राख्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो। गोप्य सूचनामा पहुँच राखी चिनियाँ सरकारलाई आपूर्ति गरेको, सार्वजनिक तथा व्यावसायिक सूचनामा सरकारी नियन्त्रण हुने गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको लगायतका विभिन्न आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले कालोसूचीमा राखेका कम्पनीसँग व्यापार गरेको र उनीहरूलाई प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै हुवावेलाई अमेरिकी प्रविधिक उपयोगमा प्रतिबन्ध लगाइएको थियो। अमेरिकाको सो कदमपछि हुवावेको स्मार्टफोन व्यापार ओरालो लागेको थियो। हुवावेमाथिको प्रतिबन्ध कडा हुँदै जाँदा व्यापार घटेको तथा लागत बढ्दा नाफामा उच्च गिरावट भइरहेको छ।