चिनियाँ एप्स टिकटकविरुद्ध मुद्दा दायर

काठमाडौं । भाइरल टिकटक च्यालेन्जका कारण दुई बालिकाको मृत्यु भएपछि परिवारले कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन् । दुवै परिवारले आफ्ना छोरीहरूको मृत्युमा टिकटकको ‘खतरनाक’ अल्गोरिदम जिम्मेवार भएको आरोप लगाएका छन् ।

सन् २०२१ तिर टिकटकमा भाइरल “ब्ल्याकआउट च्यालेन्ज” नामक च्यालेन्ज भाइरल बनेको थियो, जसमा प्रयोगकर्तालाई आफू बेहोस नभएसम्म श्वास रोकेर बस्न हौस्याउने गरिन्थ्यो । सोही च्यालेन्जका क्रममा मृत्यु भएका दुई बालिकाका परिवारले मङ्गलबार अमेरिकाको लस एञ्जल्समा रहेको उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

“ती दुई बालिकाको ज्यान लिने किसिमका सामग्रीलाई प्रोत्साहन दिएको विषयमा टिकटकलाई जवाफदेखि बनाउन जरुरी छ,” सोसल मिडिया भिक्टिम ल सेन्टरका संस्थापक अधिवक्ता म्याथ्यु पी बर्गम्यानले भनेका छन् । १५ जुलाई २०२१ का दिन टिकटकको ‘ब्ल्याकआउट च्यालेन्ज’ प्रयास गर्ने क्रममा टेक्सासकी ८ वर्षीया बालिका ललानी एरिका रेनी वाल्टनको मृत्यु भएको थियो ।

लेलानीले अप्रिल २०२१ मा आफ्नो आठौँ जन्मदिनमा उपहारमा एउटा फोन पाएकी थिइन् र चाँडै उनलाई टिकटक भिडिओको लत लाग्यो । टिकटकमा लोकप्रिय हुने आशामा उनी नाचेको र गाएको भिडिओ पोस्ट गरिरहन्थिन् ।

जुलाई २०२१ मा परिवारले ललानीको घाँटीमा चोट लागेको देखेको थियो, जसलाई उनले दुर्घटनाका कारण भएको बताएकी थिइन् । उनले घरमा कसैलाई थाहा नदिएरै उक्त ‘ब्ल्याकआउट च्यालेन्ज’मा भाग लिन थालेकी थिइन् ।

ललानीको मृत्यु भएको दिन उनले परिवारसँगको सडक यात्राका क्रममा घण्टौँसम्म उक्त च्यालेन्ज सहितका भिडिओ हेरेर बिताएकी थिइन् । “यदि ब्ल्याकआउट च्यालेन्ज गर्दै गरेको आफ्नो भिडिओ पोस्ट गरेको खण्डमा आफू पनि लोकप्रिय हुने विश्वासका साथ उनले त्यो च्यालेन्ज गरेकी थिइन्,” अदालतमा दायर गरिएको मुद्दामा भनिएको छ ।

“ललानी त्यस बखत आठ वर्षकी थिइन् र टिकटकले आफूलाई उक्त च्यालेन्ज गर्नका लागि उक्साएको कुरा उनले बुझ्न सकिनन् ।” यस्तै मृत्यु हुने अर्की बालिका थिइन् विसकन्सिनकी नौ वर्षीया अरियानी जाइलिन अरोयो ।

सात वर्षको छँदा उनले फोन पाएकी थिइन् र दैनिक थुप्रै टिकटक प्रयोग गर्थिन् । क्रमशः उनी टिकटक पारखी बन्दै गइन् र नाचेको भिडिओ राख्दै गएपछि उक्त एपको लतमा परिन् ।

जनवरी २०२१ मा अरियानीको परिवारले उनीसँग च्यालेन्जका क्रममा एक टिकटक प्रयोगकर्ताले आफ्नो ज्यान गुमाएको घटनाको बारेमा कुराकानी समेत गरेका थिए । तर आफूले कहिल्यै पनि त्यस्ता जोखिमपूर्ण च्यालेन्जमा भाग नलिने आश्वासन दिएकी थिइन् ।

यद्यपि २६ फेब्रुअरी २०२१ का दिन उनका पाँच वर्षका भाईले अरियानीलाई श्वास नफेरिरहेको अवस्थामा फेला पारे । तत्काल उनलाई स्थानीय एक अस्पतालमा पुर्‍याइयो, तर उनको मृत्यु भइसकेको थियो ।

“घातक ब्ल्याकआउट च्यालेन्ज आफ्नो एपमार्फत फैलिरहेको कुरा टिकटकलाई थाहा थिएन भन्ने हुँदैन र उनीहरूको अल्गोरिदमले ब्ल्याकआउट च्यालेन्जका सामग्री मृतक दुई बालिका सहित बालबालिकामा पुर्‍याइरहेको थियो ।” एजेन्सीकाे सहयाेगमा

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.