काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको आरोप लगाएका छन्। मंगलवार सामाजिक सञ्जालमार्फत नेता थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गराउन खोजे भन्दै झुट बोलेको आरोप लगाएका हुन्।
आइतवारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठले पेश गर्दै गर्दा काँग्रेसले रोस्टम घेराउ गरेको थियो। काँग्रेसलाई जसपाका सांसदहरुले पनि साथ दिएको थियो। त्यसपछि प्रतिनिधि सभा बैठक बुधवारसम्मका लागि स्थगित भयो।
तर मंगलवार प्रधानमन्त्री ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न काँग्रेसलगायतका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाए। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणविरुद्धको कानुन रोक्न दाहाल-नेपाल समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाएका हुन्।
संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने?झुट @PM_Nepal ज्यू!
एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।— Gagan Thapa (@thapagk) March 9, 2021
सोही विषयमा प्रधानमन्त्री ओलीलै झुट बोलेको थापाको भनाई छ। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झुट
प्रधानमन्त्रीज्यू! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।’