कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कार्य सम्पन्न

काठमाडाैँ । २२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । धनकुटाको हिलेमा बुधबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको छ ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कुल नेपाली रुपैयाँ १० अर्ब ४० करोड (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो ।

भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको  ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको हो ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेपाली रुपैयाँ ४ अर्ब ५० करोड (३७.३ मिलियन अमेरिकी डलर) लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।

बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट बिजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने काठमाडौँस्थित रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरिएको हो ।

समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

समारोहमा बोल्दै नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरेकी थिइन् । साथै उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न तथा दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरिन्।

उनले गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई धन्यवाद समेत दिइन् । साथै उनले परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासन प्रति पनि आभार प्रकट गरिन् ।

कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभी क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । साथै दुई देशबीच अन्य विद्युत प्रसारण लाइनको निर्माणमा भारतले गर्दै आएको निरन्तर सहयोगलाई जारी राखेको छ । यो ‘छिमेक पहिलो’ नीति अनुरुप भारतले जोड दिएको सीमापार आर्थिक कनेक्टिभिटिको महत्वपूर्ण पक्षको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ।