के नेपालमा चीनले बैंक खाेल्न चाहन्छ ?

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ बैंक आउन लागेको चर्चा चुलिएको छ । उदयमान शक्ति राष्ट्र चीनले विश्व बजारमा दरिलो आर्थिक उपस्थिति जनाइरहेका बेला नेपालमा आफ्नै बैंक खोल्ने तयारी गरिरहेको समाचार बाहिरिएका छन्।

गत हप्ता राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधिसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालमा बैंक खोल्न चाहेको बताएपछि एकाएक बजार तरङ्गित हुन पुगेको हो ।

भारतपछि नेपाली उपभोग्य बजारमा राम्रो उपस्थिति जनाइरहेको चीनले बैंक नै खोलेर वित्तीय कारोबार गर्ने भएपछि यसको चर्चा वित्तीय परिधिमा चुलिएको छ । पछिल्लो समय चिनियाँ लगानीमा नेपालमा थुप्रै भौतिक निर्माणका परियोजनासमेत सञ्चालित छन् ।

राजदूत सोङ्गको भनाइ अनुसार अब चीन नेपालमा प्रत्यक्ष रुपमै वित्तीय उपस्थिति जनाउने गरी अघि बढिरहेको छ । नेपालमा चिनियाँ लगानीको बैंक खोल्नेबारे आवश्यक काम भइरहेको उनको भनाइ छ ।

तर, कुन मोडालिटीमा चीनले नेपालमा बैंकिङ्ग लगानी गर्न चाहिरहेको छ भन्नेबारे उनले स्पष्ट पारेका छैनन् । आधिकारिक रुपमा लाइसेन्स नै लिएर नेपालमा बैंक खोल्न लागिएको हो कि, चिनियाँ बैंकको कुनै शाखा नेपालमा विस्तार गर्ने हो वा नेपालमा हाल सञ्चालित कुनै बैंकको प्रमोटर (संस्थापक) सेयर खरिद गर्न चाहेको हो भन्ने खुलाइएको छैन ।

केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ का डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार अहिलेसम्म चिनियाँ बैंक नेपाल आउने वा लगानी ल्याउने सम्बन्धमा केन्द्रीय बैंकलाई कुनै जानकारी छैन । उनले भने, ‘बैंक खोल्नकै लागि कुनै अनुमति माग गरिएको छैन । लगानी प्रस्ताव गरेको पनि सुनिएको छैन।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.