काठमाडौं । एक महिनाभन्दा बढी समयदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो हुने धेरैले अनुमान गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौँका तीनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेका छन्।
अहिले देशभर कोरोना संक्रमणको थपिने दर केही कम भएको छ। काठमाडौं उपत्यकाभित्र पनि पहिलेको तुलनामा संक्रमणदर केही घटेको देखिन्छ। त्यसैले पनि धेरैले अपेक्षा गरेका छन् – निषेधाज्ञा खुकुलो हुनेछ।
वैशाख १६ गतेदेखि अत्यावश्यक र प्रशासनबाट पास जारी भएका सवारी साधन मात्र चल्न दिएको छ। निजी तथा सार्वजनिक सवारी चलेका छैन। असार १ गतेबाट सवारी जोरबिजोर प्रणालीमा चल्न दिने आशा आम मानिसले गरेको देखिन्छ। तर, स्थानीय प्रशासन कार्यालयमा अहिले यस विषयमा छलफल भएको छैन।
शुक्रवार बसेको डीसीसीएमसीको बैठकले पनि एक साता कुनै पनि सवारीलाई जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा नल्याउन सुझाव दिएको थियो।
‘सवारीको हकमा के गर्ने भन्ने विषयमा छलफल भएको छैन। एक साता अझै नखोल्ने कि भन्ने पक्षमा नै छौँ। भोलिको बैठकमा छलफल होला,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।